खुला दुध बेच्न नपाए आन्दोलन



विराटनगर : प्याक्डबाहेक खुला रुपमा दुध बेच्न नपाए आन्दोलन गर्ने विराटनगरका दुग्ध व्यवसायीले चेतावनी दिएका छन्। दुध तथा दुग्ध पदार्थको स्वच्छता एवं गुणस्तर निर्देशिका २०७५ ले खुला दुध बेच्न रोक लगाएसँगै विराटनगरमा सोमबार पत्रकार सम्मेलन गरेर व्यवसायीले चैत ४ गतेबाट आन्दोलन थाल्ने घोषणा गरेका छन्।

उनीहरुरूले बेचविखन बन्द गरेर साना किसान तथा व्यापारीलाई मार्ने नियतका साथ निर्देशिका ल्याइएको भन्दै विरोध जनाए। उनीहरूले थोरै लगानी गरेर सञ्चालनमा ल्याएका आफ्ना साना डेरी उद्योग ठूला डेरीको आग्रहमा सरकारले बन्द गराउन खोजेको आरोप लगाएका छन्।

डेरी व्यवसायी संघ विराटनगरका अध्यक्ष मनोज भुजेलले साइकलमा राखेर बेच्न पाइने तर आफूहरूले ताजा र स्वच्छ दुध किसानबाट लिएर बिक्री गर्न नदिने भन्नु अन्याय पूर्ण भएको भन्दै गुनासो गरे। उनले थोरै लगानीमा डेरी सञ्चालन भएकोले प्याक्डमा गइहाल्ने अवस्था नभएको भन्दै साना डेरी व्यवसायीले तुरुन्त लगानी गर्न नसक्ने, बन्द पनि गर्न नसक्ने र समय पनि कम हुँदा अन्याय भएको बताए।

संघका सदस्य कुलप्रसाद रेग्मीले विराटनगरमा दैनिक ८० हजार लिटर दुध खपत हुने गरेकोमा ७० प्रतिशत साना डेरीले कारोवार गर्ने गरेको बताए। उनले खुला दुध गुणस्तरहिन भए त्यसको चेकजाँच गर्नुपर्ने तर, व्यवसाय नै बन्द गर्ने हिसाबमा निर्देशिका लागू गर्न नहुने बताए। कृषि तथा पशुपन्छी मन्त्रालयले दुध तथा दुग्ध पदार्थको स्वच्छता एवं गुणस्तर सम्बन्धी निर्देशिका २०७५ चैत्र ४ गते देखि कार्यान्वयन गर्ने तयारी गरेको छ।

साना तथा घरेलु उद्योगमा दर्ता गरेर आत्मनिर्भर बन्न सुरु गरिएको व्यसायलाई बन्द गर्न सरकारले निर्देशिका लागू गर्न लागेको भन्दै दुग्ध व्यवसायीहरूले तत्काल कार्यान्वयमा ल्याए सयौं डेरी पसलहरू बन्द भइ करोडौंको लगानी डुब्ने बताएका छन्। उनीहरूले निर्देशिका संशोधनको माग राखेका छन्। ग्रामीण भेगबाट युवाहरूले गर्दै आएको गाई पालनबाट उत्पादित दुधसँगै किसानको दुध संकलन गरी शहरी क्षेत्रका उपभोक्तालाई बिक्री वितरण गर्ने डेरी व्यवसायीहरू मोरङमा २ सय ४० को हाराहारीमा रहेका छन्।  

कालिका डेरीका गोपाल मिश्रले सरकारले ६० प्रतिशतको रोजाइमा परेको डेरी व्यवसायलाई बन्द गर्ने नियतले निर्देशिका लागू गर्न लागेको बताए। उनले स्थानीय उत्पादनलाई स्थानीय बजारमा प्रवद्र्धन गर्नुपर्नेमा सरकारले निर्देशिका ल्याउने नाममा अंकुश लगाउन लागेको गुनासो गरे। संघका अनुसार विराटनगर महानगर भित्र मात्र २ सय ४५ वटा डेरी पसल रहेका छन्, जसले दैनिक करिब ५६ हजार लिटर दुध बिक्री गर्दै आएका छन्।

विराटनगरका डेरी पसलहरूमा ४० करोडभन्दा बढीको लगानी रहेको व्यवसायीको दावी छ। सरकारले दुध बिक्रीमा प्रतिबन्ध लगाए आफूहरूको लगानी डुब्ने भन्दै व्यवसायीले सरकारको ध्यानाकर्षण पनि गराएका छन्। 

प्रतिक्रिया दिनुहोस्