व्यावसायिक खेती गर्ने दुई पक्राउ, तीन हजार बोट नष्ट 



विराटनगर : प्रतिबन्धित लागूऔषध अफिमको खेतीविरुद्ध प्रहरीले मोरङमा सोमबारबाट कडा अभियान थालेको छ । अभियानअन्तर्गत अफिम खेती हुने ठाउँको पहिचान गर्ने, बोट मास्ने र खेतीमा संलग्नलाई पक्राउ गरी कानुनी कारबाही अघि बढाउने रहेको छ ।   

जताततै अफिमको व्यावसायिक खेती हुने गरे पनि कानुन कार्यान्वयन गर्ने निकाय मौन रहेको जनगुनासो आइरहँदा अफिमविरुद्ध प्रहरी कडा रूपमा प्रस्तुत भएको हो । प्रहरीले सोमबारमात्रै मोरङको सुनवर्षी र पथरीशनिश्चरे नगरपालिकामा एक कट्ठा १४ धुर जग्गामा लगाइएको तीन हजार ३४ बोट अफिम नष्ट गर्दै यसको व्यावसायिक खेतीमा संलग्न दुईजनालाई पक्राउ गरेको छ । 

अहिले अफिमको फुल खेल्ने र दाना लाग्ने समय हो । अफिमको दानाबाट निस्किने चोपलाई लागूऔषधका रूपमा प्रयोग गर्ने गरिएको प्रहरीले जनाएको छ ।

अन्य वस्तुमा मिसाएर पनि यसको प्रयोग गरिन्छ । तरकारी, अचार तथा आलुबाट बन्ने चपलगायतका परिकार र ब्रेडमा पनि प्रयोग गरेर यसको सेवन गर्ने गरिएको प्रहरीले जानकारी दिएको छ । 

यसअघि प्रहरीले यसको खेती गर्नेलाई पक्राउ गर्दैन थियो । धेरै ठाउँमा लगाइएका अफिम खेती नष्ट गरे पनि प्रहरीले व्यावसायिक खेतीमा संलग्नलाई भने उन्मुक्ति दिँदै आएको थियो । 

अफिको खेतीमा संलग्न सुनवर्षी नगरपालिका–२ का ५२ वर्षीय बुर्ज गनगाई र पथरीशनिश्चरे–५ का चमरु भनिने ५० वर्षीय चन्द्रप्रसाद सिंह गनगाईलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले बताए । उनका अनुसार पक्राउ परेका दुवैजना लामो समयदेखि व्यावसायिक अफिम खेतीमा संलग्न व्यक्ति भएको खुलेको छ । बुर्जले आफ्नो ४ धुर जमिनमा लगाएका दुई सय ५७ बोट र चन्द्रप्रसादले आफ्नो ७ धुर जमिनमा लगाएका एक हजार चार सय ४७ बोट अफिम नष्ट गर्दै प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । 

अफिम खेती नष्ट गर्न र यसको खेती गर्ने कार्यमा संलग्नलाई पक्राउ गर्नका लागि इलाका प्रहरी कार्यालय पथरीबाट प्रहरी निरीक्षक कमल बजगाई र इलाका प्रहरी कार्यालय रंगेलीबाट प्रहरी निरीक्षक कवीन्द्र कार्की नेतृत्वको भिन्दाभिन्दै टोली परिचालित थिए । प्रहरीले सुनवर्षी–२ का बासुदेव गनगाईले पनि एक कट्ठा क्षेत्रफलमा लगाएका एक हजार तीन सय ३० बोट अफिम नष्ट गरिदिएको छ । वर्षौंदेखि व्यावसायिक खेती गर्ने बासुदेव भने फरार भएका कारण पक्राउ गर्न नसकिएको र खोजी थालिएको प्रहरीले जनाएको छ । 

पक्राउ परेकाहरूलाई लागूऔषध (नियन्त्रण) ऐन २०३३ बमोजिम अफिम खेतीअन्तर्गत कारबाही अघि बढाइने डिएसपी श्रेष्ठले बताए । उनले प्रहरी अफिम खेतीविरुद्ध कडा रूपमा प्रस्तुत भएको जानकारी दिँदै भने, ‘मोरङका धेरै ठाउँमा अफिम खेती हुने गरेको सूचनाका आधारमा प्रहरीले निगरानी बढाएको छ । यसको खेती गर्ने कोही कसैलाई पनि अब उन्मुक्ति मिल्दैन ।’ 

अफिमलाई कानुनले पूर्ण रूपमा प्रतिबन्ध लगाएका कारण पनि प्रहरीले यसको खेती र व्यापारलाई निरुत्साहित गर्ने अभियान चलाएको जानकारी डिएसपी श्रेष्ठले दिए । 

यसको खेती २५ बोटसम्म गरिए १ देखि ३ वर्षसम्म कैद र पाँच हजारदेखि २५ हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ । २५ बोट भन्दामाथि जतिसुकै भए पनि ३ देखि १० वर्षसम्म कैद र २५ हजारदेखि दुई लाख रुपैयाँसम्म जरिवानाको सजाय हुने कानुनी व्यवस्था छ । 

विशेष गरेर नेपाल–भारत सीमावर्ती क्षेत्रमा यसको खेती व्यापक रूपमा हुने गरेको छ । नेपालमा उत्पादन गरेर अफिम भारततिर लैजाने गरिएको र केही नेपालमै पनि लागूऔषधका रूपमा प्रयोग गर्ने गरिएको प्रहरीको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्