विराटनगरमा मुटुरोग उपचारका लागि अत्याधुनिक मेसिन  



विराटनगर : विराटनगरको नोबेल शिक्षण अस्पतालले मुटुरोगको गुणस्तरीय उपचारका लागि नेपालमै पहिलोपटक अत्याधुनिक प्रविधि भित्र्याएको छ । 

अस्पतालले अत्याधुनिक थ्रिडी ओसिटी मेसिन सञ्चालनमा ल्याएको हो । अस्पतालले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईद्वारा उद्घाटन गराएर मेसिन सुचारु गरिएको घोषणा गरेको छ । दुई करोड मूल्य पर्ने उक्त मेसिन मुटुको जटिल एन्जियोप्लाष्टीका लागि उपयोगी रहेको जनाइएको छ । 

कोरोनरी आर्टरी साँघुरिएका बिरामीको ब्लकेज खोल्ने क्रममा स्टेन्ट राख्न सो मेसिन उपयोगी मानिन्छ । भिडियो एक्सरे गरेर नसाभित्रको वास्तविक अवस्था पत्ता लगाउन सो मेसिनले मद्दत गर्ने अस्पतालका डाइरेक्टर तथा कार्डियोलोजी विभागका प्रमुख डा. राजेश नेपालले जानकारी दिए । 

सो मेसिनले स्टेन्ट हाल्नुपर्ने वा नपर्ने, हाल्दा कस्तो र कत्रो साइजको हाल्नुपर्ने, स्टेन्ट राख्दा राम्रोसँग मिल्यो कि मिलेन जस्ता सबै कुरा मेसिनकै माध्यमबाट पत्ता लाग्ने हुनाले उपचार प्रभावकारी हुने उनले बताए । 

मुख्यमन्त्री राईले प्रदेश १ लाई स्वास्थ्य हबका रूपमा विस्तार गर्ने प्रदेश सरकारको लक्ष्य रहेको बताए । उनले मुटुरोगका लागि नेपालमै पहिलो प्रविधि भित्र्याएर नोबेलले स्वास्थ्य उपचारका क्षेत्रमा फड्को मारेको बताए । 

नेपालमै पहिलोपटक ओसिटी मेसिन प्रयोगमा आएपछि मुटुको एन्जियोप्लाष्टीका लागि गुणस्तरीय र भरपर्दो उपचारको थालनी भएको अस्पताल सञ्चालक डा। सुनिल शर्माले बताए । उनका अनुसार मेसिन सञ्चालन गरिएसँगै नेपालका मुटुरोगीलाई भारतसँगै तेस्रो मुलुक जाने झन्झट हटेको छ । 

प्रतिक्रिया दिनुहोस्