तस्करीको सुर्तीसहित २ जना पक्राउ 



विराटनगर : भारतबाट नेपालतर्फ तस्करी गरेर ल्याउँदै गरेको सुर्तीसहित विराटनगर महानगरपालिका–१६ दरैयाबाट प्रहरीले शुक्रबार २ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक इन्द्रबहादुर रानाको नेतृत्वमा खटिएको प्रहरीको विशेष टोलीले विराटनगर– ११ का २२ वर्षीय पप्पु कामत र विराटनगर–६ का २२ वर्षीय कृपानन्द चौधरीलाई पक्राउ गरेको हो ।

उनीहरूका साथबाट ठूलो परिणामको तस्करीको सुर्ती पनि बरामद भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले बताए । सुर्ती तस्करीमा प्रयोग गरिएको को२२प २८५२ नम्बरको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ । भन्सार छली गरेर ल्याउँदै गरेको सुर्ती बरामद भएपछि नेपाल–भारत सीमा क्षेत्रमा निगरानी बढाइएको प्रहरीले जनाएको छ ।

भारतबाट नेपालतर्फ धेरै मात्रामा सुर्ती तस्करी हुने गरेको सूचनाका आधारमा नेपालतर्फ आउने सवारी साधन, मानिसमाथि चेकजाँच बढाइएको श्रेष्ठले बताए । सम्भावित सबै नाकामा नेपाल र सशस्त्र प्रहरीको विशेष टोली परिचालन गरेर निगरानी बढाउने काम भइरहेको उनको भनाइ छ । प्रहरीले बरामद गरेको ५ सय २० पोका सुर्ती, मोटरसाइकल र पक्राउ परेका दुबै जनालाई आवश्यक कारवाहीका विराटनगर भन्सार कार्यालयमा बुझाएको छ । 

प्रतिक्रिया दिनुहोस्