एक अर्ब लगानीमा व्यापारिक महल 



विराटनगर : विराटनगरमा एक अर्ब लगानीमा सुविधा सम्पन्न अत्याधुनिक व्यापारिक महल निर्माण गरेर सोमबारबाट सञ्चालमा ल्याइएको छ । तीनवटा व्यवसायिक समूह देवेनरा, हाइलाइफ र विशाल ग्रुपको संयुक्त लगानीमा सञ्चालनमा ल्याइएको तीन तले महललाई सेन्ट्रल महल नाम दिइएको छ ।

५० वर्षसम्मको परिकल्पना गरेर नयाँ व्यवसायिक अवधारणा अनुसार सञ्चालन गरिएको महलको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्धघाटन गरे । यही भवन भित्र चलचित्र हल पनि छ । खानाका परिकार, लत्ता कपडा, बालबालिकाका लागि आवश्यक पर्ने वस्तुहरु, विभिन्न देशमा ब्राण्डेड कम्पनीका लुगा, जुत्ता चप्पल, कस्मेटिक, दैनिक उपभोग्य वस्तु, विलासिताका सामान लगायत एकै ठाउँबाट खरिद गर्न मिल्ने जनाइएको छ ।

महलका सञ्चालक प्रकाश मुन्दडाले विश्वका सात भन्दा बढी मुलुकले उत्पादन गर्ने सामानहरु खरिद गर्न पाइने जानकारी दिए । उनका अनुसार महल भित्रै बालबालिकाका लागि गेम जोन, कपाल काट्ने शैलुन र रेष्टुरेन्ट पनि सञ्चालनमा छ । मल १५ कट्ठा क्षेत्रफलमा निर्माण गरिएको छ । २ वर्षअघि निर्माण सुरु गरिएको मलमा १ सय ४ वटा कोठामा पसलहरु सञ्चालनमा रहेका छन् ।

उद्घाटनका दिनसम्म आइपुग्दा ७० प्रतिशत पसल भाडामा लागिसकेको सञ्चालक मुन्दडाले बताए । उनका अनुसार पसलहरु ७० देखि १ सय ५० स्क्वायर फुटका दरमा भाडामा लगाइएका छन् । वैशाखसम्ममा सबै पसलहरु भाडामा लाग्ने मुन्दडाको भनाइ छ । उनका अनुसार सेन्ट्रल महलमा ६० वटा गाडी र २ सय ५० मोटरसाइकल पार्किङको क्षमता रहेको छ । मलको उद्धघाटन गर्दै मुख्यमन्त्री राईले सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न चाहेको बताएका छन् । लगानी सम्मेलन गरेर निजी क्षेत्र र दातृ निकायसँग प्रस्तुत हुन चाहेको बताए । 

प्रतिक्रिया दिनुहोस्