२० हजार गुराँसका बोट काटिदै 



विराटनगर : गुराँसको राजधानी भनेर चिनिने प्रदेश १ को संखुवासभा, ताप्लेजुङ र तेह्रथुमको संगमस्थल तीनजुरे, मिल्के र जलजले (टिएमजे) क्षेत्रमा २० हजार बोट गुराँस काटिने भएको छ । विद्युत विस्तारका क्रममा गुराँसका लागि प्रशिद्ध राजधानीमै गुराँसका रुख काटिने भएपछि स्थानीय चिन्तित बनेका छन् ।

स्थानीय बासिन्दाले यति धेरै रुख काटिदा गुराँस राजधानीको अस्तित्व मेटिने भन्दै चिन्ता व्यक्त गरेका हुन् । उनीहरूले रुख काट्न नहुनेमा जोड दिँदै यस कार्यमा अवरोध गर्ने सम्मको चेतावनी दिएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रवद्र्धन गर्ने भनिएका सय वटा पर्यटकीय गन्तब्यहरु मध्ये टिएमजे एक हो ।

डिभिजन वन कार्यालय तेह्रथुमका डिभिजन प्रमुख सुनीलकुमार सिंहले भने गुराँसका रुखहरू काट्ने प्रक्रिया अघि बढिसकेको जनाए । राष्ट्रिय गौरवको कोसी करिडोर २ सय २० केभीए विद्युत प्रशारण लाइन विस्तारको क्रममा गुराँसका रुख काट्नुपर्ने स्थिती आएको उनले बताए । सिंहका अनुसार टिएमजे क्षेत्रको मध्य भागबाट विद्युतको प्रसारण लाइन विस्तार गर्ने योजना छ ।

गुराँसका कारण स्थानीय स्तरको पर्यटन प्रवद्धनमा सहयोग पुगिरहेको अवस्थामा रुखहरु काट्न अनुपयुक्त हुने संखुवासभाको मुढेशनिश्चरेका स्थानीय बासिन्दा एवं नेकपा नेता ऋषिकेशव चापागाईले बताए । उनले रुखहरू काटिदा टिएमजेको पर्यटकीय सौन्दर्यता र सम्भावना गुम्ने खतरा बढेको बताउँदै विद्युत विस्तारका लागि टिएमजे क्षेत्रको विकल्प खोजी गर्नुपर्नेमा जोड दिए । राज्यले संरक्षण र प्रवद्र्धनको सूचीमा राखेको यस क्षेत्रलाई करिडोरको कार्यले असर पुर्याउन नहुँने चापागाईको भनाइ छ ।  

लाईन विस्तारका क्रममा गुराँसै गुराँस भएको चैते, चित्रे, तीनजुरे–रातपोखरी, लिसाबोटे, मेन्छ्यायाम धाप, गौरी नांगी र डांगी जोरी सामुदायिक वन क्षेत्रमा रुख कटान हुने जनाइएको छ । गुराँस पर्यटनको केन्द्रको मध्य भागबाट लाइन विस्तार हुँदा गुराँस मासिएर मुलुककै महत्वपूर्ण पर्यटकीय स्थल गुम्ने तेह्रथुमको लालिगुराँस नगरपालिकाका नगर प्रमुख अर्जुन माबोहाङले बताए । पहिचान र यस ठाँउको महत्वका बारेमा सम्बन्धीत पक्षले बुझ्नुपर्ने बताउँदै उनले भने, ‘यहाँको सौन्दर्य नै गुराँसका वनहरू हुन् । यति धेरै रुख काट्दा यहाँको अस्तित्व संकटमा पर्ने निश्चित छ ।’ २८ प्रजातिका गुराँस पाइने भएकाले यो क्षेत्रमा यस सिजनमा पर्यटकको घुइँचो लाग्छ ।

प्रत्येक वर्षको फागुनदेखि वैशाखसम्ममा स्वदेशी तथा विदेशी पर्यटकहरूले यो ठाउँ भरिभराउ हुने गरेको मेयर माबोहाङले बताए । ‘विद्युत विस्तारको काम पनि रोकिन हुँदैन,’ उनले भने, ‘गुराँसका रुखहरु पनि काटिन हुँदैन ।’ उनले विद्युत प्रशारण लाइन विस्तार गरिँदा गुराँसका रुखहरू मासिनबाट जोगाउनुपर्ने बताए । दुर्लभ प्रजातिका गुराँसका रुखहरु काटिए त्यसैमा टिकेको पर्यटन प्रभावित हुने चैते सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष युकबहादुर बस्नेतले बताए । ‘गुराँस वन फँडानी भए गुराँस हेर्नकै लागि आउने पर्यटकले के हेरेर जाने,?’ उनले प्रश्न गरे ।

‘गुराँसले नै यहाँको पर्यटन व्यावसाय धानेको अवस्थामा रुख मासिदा त्यो पनि चौपट हुन्छ,’ अध्यक्ष बस्नेतले भने, ‘ गुराँस बचाउन पनि कोसी करिडोर २ सय २० केभीए विद्युत प्रशारण लाइन विस्तारका लागि यस ठाउँको विकल्प खोजिनुपर्छ ।’ गुराँसको घना जंगल भएर कोसी करिडोर प्रसारण लाइन विस्तारको तयारी भएकोले हजारौं गुराँसका रुखहरू मासिने अवस्था रहेको बस्नेतले बताए । उनले स्थानीय बासिन्दा यस ठाउँको विकल्प खोज्नुपर्नेमा लागिरहेको जानकारी दिए ।  

प्रतिक्रिया दिनुहोस्