प्रदेश २: संक्रमितको संख्या ३ हजार ३६४ पुग्यो,३ हजार ५७३ को रिपोर्ट आउन बाँकी, १ हजार ५९० जना डिस्चार्ज



जनकपुरधाम– प्रदेश नम्बर २ मा पछिल्लो २४ घण्टामा ४५ जना व्यक्तिहरुमा कोरोना संक्रमण पुष्टी भएको छ ।

संक्रमित भएकाहरु महोत्तरीका १८,धनुषाका १०,रौतहटका १६ र सर्लाहीका १ जना रहेका छन् । योसँगै यस प्रदेशमा संक्रमितको संख्या ३ हजार ३ सय ६४ पुगेको छ । संक्रमित मध्ये ३ हजार १ सय ५७ पुरुष र २ सय ७ जना महिला रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाले जानकारी दिए ।

महोत्तरीमा संक्रमण पुष्टी भएकाहरु सम्सी नगरपालिकाको क्वारेन्टाईनमा रहेका २२,३० र ४० बर्षिया ३ जना महिला र १ देखि ४८ बर्ष उमेर समूहका १३ जना पुरुष रहेका छन् भने एकडारा गाउँपालिकाको क्वारेन्टाईनका १९ देखि ४० बर्ष उमेर समुहका २ जना पुरुषहरु रहेको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले जानकारी दिए ।

त्यस्तै धनुषाको गणेशमान चारनाथ नगरपालिकास्थित चिसापानी क्वारेन्टाईनमा रहेका २२ र ४५ बर्षिया २ जना महिला र १९ देखि ४० बर्ष उमेर समुहका ७ जना पुरुषहरु संक्रमित भएका छन् भने सोही नगरपालिकाकै दुखनी देवी मावि बिरेन्द्रबजारको क्वारेन्टाइनमा रहेकी १९ बर्षिया १ महिलामा समेत संक्रमण पुष्टि भएको छ ।

रौतहटमा संक्रमण पुष्टी भएकाहरु गौर अस्पतालमा रहेका ३२ र ३५ बर्षका २ जना पुरुष,लौकहा क्वारेन्टाइनका १८,२०,२१ र २५ बर्षका ४ जना पुरुषहरु रहेका छन् भने १ देखि २६ बर्ष उमेर समुहका ९ जना पुरुष र १ बर्षिया १ बालिकाको ठेगाना खुल्न सकेको छैन् । त्यस्तै सर्लाहीका समेत ठेगाना खुल्न नसकेका २६ बर्षिय १ पुरुष संक्रमित भएका छन् ।

प्रदेशभरीमा आईतबारसम्म ४२ हजार २ सय १७ जनाको स्वाब संकलन गरिएकोमा ३ हजार ३ सय ६४ जना संक्रमित भएका छन् भने ३५ हजार २ सय ८० जनाको रिपोर्ट नेगेटिभ आएको छ । त्यस्तै ३ हजार ५ सय ७३ जनाको रिपोर्ट आउन बाँकी रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यस प्रदेशमा आज ९आईतबार० मात्रै सप्तरीमा ५३,धनुषामा ९९,बारामा ३५ र पर्सामा २४ जना गरि कुल २ सय ११ जनाको स्वाब संकलन गरिएको छ भने सप्तरीमा १५,महोत्तरीमा २१ र पर्सामा ९८ गरि जम्मा १ सय ३४ जनाको आरडिटी परिक्षण गरिएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले जानकारी दिए ।

आरडिटी तर्फ अहिलेसम्म १९ हजार ८ सय ६० जनाको परीक्षण गरिएकोमा ९ सय ५५ जनाको रिपोर्ट पोजेटिभ आएको छ भने १८ हजार ९ सय ५ जनाको रिपोर्ट नेगेटिभ आएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले बताए ।

प्रदेश २ को आठवटै जिल्लाका बिभिन्न ठाउँहरुमा निर्माण गरिएको ३२ हजार १६ बेड क्षमताको ४ सय ५९ वटा क्वारेन्टाइनमा अहिले ५ हजार ५ सय ३७ जनालाई राखिएको छ भने १८ हजार ३ सय ३६ जनालाई होम क्वारेन्टाइनमा पठाइएको छ । प्रदेशका आठवटै जिल्लाको बिभिन्न ठाउँहरुमा सञ्चालनमा रहेको १ हजार ८ सय २८ बेड क्षमताको आईसोलेशनमा ७ सय ९५ जना बिरामीलाई भर्ना गरिएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले जानकारी दिए ।

प्रदेश २ मा सबैभन्दा बढी रौतहट जिल्लामा १ हजार १ सय ९१ जनाको रिपोर्ट पोजेटिभ आएको छ । त्यस्तै सर्लाहीमा ६ सय २४,महोत्तरीमा ६ सय ८,धनुषामा ३ सय ४३,सप्तरीमा १ सय ७१, सिरहामा १ सय ६१, पर्सामा १ सय ५८ र बारामा १ सय ८ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा यस प्रदेशमा १ सय ७५ जना व्यक्ति अस्पतालबाट डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेहरुमा धनुषाका ३ जना,महोत्तरीका ४ जना,सर्लाहीका ५९ जना,रौतहटका ७४ जना,पर्साका २१ जना र सिरहाका १४ जना व्यक्तिहरु रहेको उनले जानकारी दिए । योसँगै हालसम्म यस प्रदेशका १ हजार ५ सय ९० जना संक्रमित डिस्चार्ज भएर आ–आफ्नो घर फर्किसकेका छन् । प्रदेशमा हालसम्म २ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्