तलब भात्ता बृद्धिबारे भण्डाफोर तथा खबरदारी कार्यक्रम



बुटवल– प्रदेश नं. ५ सरकारले कानून संशोधन गरेर स्थानीय जनप्रतिनिधिहरुको तलब तथा सुविधा अनपेक्षित रुपमा बढाएकोमा त्यसको भण्डाफोर र खबरदारी गर्दै राष्ट्रिय जनमुक्ति पार्टी, प्रदेश नं. ५ (लुथम) ले आइतबार बुटवलमा भण्डाफोर एवं खबरदारी सभा सम्पन्न गरेको छ ।

सो भण्डाफोर तथा खबरदारी सभालाई सम्बोधन गर्दै पार्टीका उपमहासचिव एवं भ्रष्टाचार विरुद्ध राष्ट्रिय अभियानका केन्द्रीय प्रवक्ता टोप अस्लामीले प्रदेश ५ को सरकारले कानून बनाएर जनप्रतिनिधिहरुको तलब भत्ता अनपेक्षित रुपमा वृद्धि गर्नु नेपालको संविधान बिपरीत भएको बताएका छन् ।

उनले प्रदेश ५ को सरकारको बदनियतपूर्ण निर्णय भ्रष्टाचारी कदम भएको भन्दै जनताको सेवा गर्ने कसम खाएर जिम्मेवारी प्राप्त गरेका जनप्रतिनिधिहरुले त्यसको स्वीकार गर्नु थप भ्रष्टाचार भएको बताए ।

दुईतिहाई जनमत प्राप्त प्रधानमन्त्रीले समृद्ध नेपाल र सुखी नेपालीको नारा प्रचार गरेको सन्दर्भ स्मरण गर्दै भ्रष्टाचारीको मुखै हेर्दिन भन्ने प्रधानमन्त्रीको नजर यता छ कि छैन ? भन्ने प्रश्न गरे ।

उनले देशको संविधानको वर्खिलाप कार्य गर्ने प्रदेश ५ को सरकारलाई तत्काल खारेज गर्न पनि माग गरे । भ्रष्टाचार विरुद्ध राष्ट्रिय अभियानका प्रवक्ता अस्लामीले यदि जनप्रतिनिधिहरुले आर्थिक लाभ प्राप्त गर्ने उद्देश्य नै लिएको हो भने व्यापार व्यवसाय गरेर बस्नु पर्ने स्मरण गराउनु भएको छ । राष्ट्रियताका पक्षमा कतिपय राम्रा कामका वाबजुद प्रधानमन्त्रीले भ्रष्टाचार सम्बन्धमा कानून बनाएर अगाडि बढ्न उदासिन भएको आरोप समेत लगाए ।

कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय सदस्य गीता सारुले प्रदेश ५ को सरकारले विभिन्न १४ शिर्षकमा गरेका निर्णयहरु जनताको हित प्रतिकूल भएको बताए। हरेक जनताले तिरेको राजस्वको सही सदुपयोग गर्ने जिम्मेवारी पाएकाहरुले भाग लगाएर त्यसको दुरुपयोग गर्नु जनमतको अपमान भएको बताए । उनले जनताको बलबाट प्राप्त संघीयतालाई असफल बनाउने खेल सरकारबाट नै हुन लागेको त छैन ? भन्ने प्रश्न पनि उठाए ।

सो भण्डाफोर एवं खबरदारी सभामा राष्ट्रिय थारु मञ्च नेपालका राष्ट्रिय संयोजक रेखा प्रसाद चौधरी साथै जनमुक्ति युवा महासंघका प्रदेश ५ (लुथम) का अध्यक्ष डिबी थापाले पनि सम्बोधन गरेका थिए । उनले प्रदेश ५ सरकारले विभिन्न १४ बुँदामा गरेको जनविरोधी निर्णयको तत्काल खारेज गर्न माग गर्नु भयो । यसका साथै अब न्यायप्रेमी नेपालीहरुले सरकारका भ्रष्टाचारी कदमलाई टुलुटुलु हेरेर नबस्ने बताए ।

राष्ट्रिय जनमुक्ति पार्टी, प्रदेश नं. ५ (लुथम) का सदस्य आशा गुरुङ्गको सञ्चालन रहेको सो भण्डाफोर एवं खबरदारी सभा प्रदेश उपाध्यक्ष धनी आलेको सभापतित्वमा सम्पन्न भएको थियो ।
अविरल झरीका बीच भएको कार्यक्रम जनताको उत्साहजनक उपस्थिति रहेको थियो । भण्डाफोर एवं खबरदारी सभा कार्यक्रम शुरु हुन अगाडि लखन चोक चौराहाबाट रयाली शुरु गरिएको थियो भने रयाली ट्राफिक चोकमा पुगी सभामा परिणत भएको थियो ।

जनप्रतिनिधिहरु भक्षक होईन रक्षक बन्नु पर्छ भन्ने मूल नारा सहित अगाडि बढेको र्यालीमा राष्ट्रिय जनमुक्ति पार्टी – जिन्दावाद , जनप्रतिनिधिहरूले तलब भत्ता लिने व्यवस्था बन्द गर , जनप्रतिनिधिहरू स्वयंसेवक हुनै पछ, तलब लिने जनप्रतिनिधि– राजीनामा गर , जनप्रतिनिधिको तलब भत्ता बढाउने निर्णय – खारेज गर, जनप्रतिनिधिहरुले तलब भत्ता त्याग्नै पर्छ – त्याग्नै पर्छ भन्ने नाराहरु लगाईएको थियो ।

प्रतिक्रिया दिनुहोस्