सीमा क्षेत्रमा सशस्त्र र एसएसबीको संयुक्त गस्ती 



विराटनगर : भारतसँग सीमा जोडिएको मोरङको सीमावर्ती क्षेत्रमा नेपाल र भारतका सुरक्षकर्मीले संयुक्त गस्ती सुरु गरेका छन् । नेपालका तर्फबाट सशस्त्र प्रहरी र भारतकातर्फबाट सीमा सुरक्षा वल (एसएसबी) ले गस्ती गर्न थालेका हुन् । ७२ किलोमिटर क्षेत्रमा संयुक्त गस्ती गरिरहेको टोलीले मोरङको रतुवामाई नगरपालिका– ३ मिर्चैया गडीसम्मको रेखदेख गर्ने छ ।

नेपाल र भारतका सुरक्षाकर्मीले संयुक्त रुपमा गस्ती थालेको क्षेत्र भित्र एक सय २४ वटा दुई देशीय सीमा छुट्याउने पिलरहरू रहेछन् । नियमित गस्तीका कारण सीमा क्षेत्रमा हुने अवैध गतिविधी, चोरी तस्करी, मानव तस्करी, लागुऔषधको ओसारपसार, सीमा विवाद जस्ता समस्याको अन्त्य हुने सशस्त्र प्रहरीका प्रहरी निरीक्षक सुमन बुढाथोकीले बताए । उनले संयुक्त काम कारवाहीका कारण दुई देशका सुरक्षा अधिकारीबीचको समन्वय पनि राम्रो र सुदृढ हुने जानकारी दिए ।

सशस्त्र प्रहरीको बीओपी रंगेलीका प्रमुख विश्वनाथ पोख्रेलले संयुक्त सुरक्षा गस्तीका कारण सीमा क्षेत्रमा बसोबास गर्ने दुवै देशका नागरिकले समेत सुरक्षित महसुस गर्ने बताए ।  गस्ती टोलीमा सशस्त्र प्रहरीबाट २१ जना र भारतीय सीमा सुरक्षा वल (एसएसवी) बाट १५ सुरक्षाकर्मी संलग्न छन् । 

प्रतिक्रिया दिनुहोस्