अख्तियारको नाममा ५ करोड माग्ने ९ जना पक्राउ



काठमाडौंः अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कर्मचारी बनेर जग्गा व्यवसायीसँग बार्गेनिङ गर्ने ९ जनालाई पक्राउ गरेको छ ।

आयोग र प्रहरीले बिहीबार ज्योतिष अर्जुनकुमार थापा क्षेत्रीसहितका व्यक्तिलाई पक्राउ गरेको हो । जग्गासम्बन्धी उजुरी परेकोले मिलाउन भन्दै उनीहरूले बुढानीलकण्ठ चपलीका एक जग्गा व्यवसायीसँग ५ करोड रुपैयाँ मागेका थिए ।

पछि ५० लाखसम्म मुद्दा मिल्ने भन्दै पैसा लिन गएका वेला पक्राउ परेका हुन् । पक्राउ पर्नेमा थापासहित विजय रावल, जगदीश खड्का, राजेन्द्रकुमार श्रेष्ठ, राजेश गुरुङ, शम्भुप्रसाद रेग्मी, शंकरविक्रम खड्का, श्यामसिंह थापा र विवेक पोखरेल रहेका छन् ।

ज्योतिष क्षेत्रीले आफू अख्तियारको सहसचिव भएको बताएका थिए । उनीहरूमाथि प्रहरीले कारबाही आगाडी बढाएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्