नेकपा नेता गुरुङ महिला हत्यामा संलग्न भएकाे खुलासा, हत्या गरी फालिएकाे शव भेटिएन



विराटनगर : ८ दिनअघि हराएकी मोरङ बेलबारी नगरपालिका–४ की रमिला राईको हत्या भएको खुलासा भएको छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कै स्थानीय नेता योगेन्द्र गुरुङले उनको हत्या गरेको प्रहरीले जानकारी दिएको छ। उनी एमाले बेलबारीका पूर्वअध्यक्ष हुन्।

नेता गुरुङले आफूले राईको हत्या गरेर सप्तकोसी ब्यारेजबाट फ्याँकेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ । २६ वर्षीया राई फागुन १७ गते शुक्रबार राति हराएकी थिइन्। नेता गुरुङलाई प्रहरीले ३ दिनअघि इलामबाट पक्राउ गरेको छ ।

गुरुङले प्रयोग गर्दै आएको बा १५ प ७९१६ नम्बरको कार प्रहरीले उनको बेलबारीस्थित घरबाट नियन्त्रणमा लिएको छ । हत्यापछि राईको शव सप्तकोसी ब्यारेज लैजान गुरुङले उक्त गाडी प्रयोग गरेको प्रहरी दाबी छ । प्रहरी अनुसन्धानबाट राई हराएकै राति हत्या गरेर शव कोसीमा फ्याँकेको पत्ता लागेको छ । हराएको राति राई गुरुङसँगै रहेको र घर नफर्किएपछि परिवारले राईको बेपत्ता भएको निवेदन प्रहरीमा दिएका थिए। गुरुङको बयानका आधारमा प्रहरीले २ दिनदेखि कोसी आसपासमा राईको शव खोजतलास गरिरहेको तर फेला पार्न नसकिएको मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले जानकारी दिए। 

‘शवको खोजतलास गरिहेका छौं । कोसीमा फ्याँकेको बताएकाले निरन्तर खोजीरहेका छौं’, एसपी केसीले भने, ‘अरू प्रमाण पनि जुट्नु पर्छ । सबै प्रमाण संकलन गरेर अनुसन्धान भइरहेको छ ।’ कोसीमा बगिसकेकाले पनि शव नभेटिन सक्ने आशंका उनले जनाए। राई हराएपछि गुरुङले समेत इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर रामकुमार राईलाई फोन गरी आफ्नी ‘गर्लफ्रेन्ड’ बेपत्ता भएकाले तनावमा परेको र खोजी दिन अनुरोध गरेका थिए। एक छोरीका आमा राई पतिसँग डिभोर्स गरेर माइतीमै बस्दै आएकी थिइन्। गुरुङको परिवार काठमाडौंमा बस्छ । उनको परिवारमा पत्नी र २ छोरा छन्। 

तत्कालीन एमाले बेलबारीका पूर्वअध्यक्ष गुरुङ नोबेल अस्पताल बेलबारी र साझेदारी वनका अध्यक्ष पनि हुन् । उनले राईको हत्या किन गरे कारण प्रष्ट नभएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार १७ गते साँझ योगेन्द्रले रमिला, उनकी एक साथी र अर्का एक युवकलाई लिएर दोहोरी जाने भन्दै घरबाट निस्किएका थिए । उनीहरु सुन्दरहरैंचा नगरपालिकाको विराटचोकस्थित हवाना रेस्टुरेन्ट गएको खुलेको छ। राति करिब ११ बजेतिर योगेन्द्रले सबै जनालाई लिएर घर फर्किएका थिए । उनले रमिलासँग गएकी घर छेउकी महिला र युवकलाई छाडिदिए पनि रमिलालाई भने गाडीमा सँगै लिएर गएको प्रहरीले जनाएको छ।

 

रमिला हराएपछि स्थानीय बासिन्दा, परिवारका सदस्य र प्रहरीले विभिन्न ठाउँमा रमिलाको खोजी गरेका थिए। रमिलाको खोजीमा योगेन्द्र पनि सँगै थिए । त्यसपछि उनी बेलबारीबाट भागेका थिए । रमिला र योगेन्द्रबीच केही समयदेखि सम्बन्ध रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। सम्बन्धमा फाटो आएपछि रमिलाको हत्या गरेको प्रहरीको आशंका छ । कोसीमा बगाएको भोलिपल्ट बिहानै ४ जना सहयोगी लिएर शव नदी आसपास छ कि भनेर हेर्न गुरुङ कोसी ब्यारेज पुगेको पनि प्रहरीले जनाएको छ । उनीसँग कोसी पुगेका २ युवतीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । अन्य दुई युवाको खोजी गरिरहेको छ। 

प्रहरीका अनुसार रमिला हराएपछि उनकी बहिनीले योगेन्द्रलाई पनि फोन गरेर सोधेकी थिइन्। तर योगेन्द्रले राति ११ बजे घरनजिकै ल्याएर छाडिदिएको बताएका थिए । रमिला घर नफर्किएपछि आफन्तले खोजी थालेका थिए । फोन आएपछि योगेन्द्र पनि भोलिपल्ट रमिलाको माइतीघर पुगेका थिए। उनले नै प्रहरीमा हुलिया दिन र बेपत्ता भएको जानकारी गराउन रमिलाका माइतीलाई सल्लाह दिएका थिए। 

‘बेलबारी–४ स्थित घरमै बन्धक बनाएर राखेको आशंकामा फागुन २० गते योगेन्द्रको घरमा पनि खानतलासी गर्ने काम भयो । तर घरमा केही पनि फेला पार्न सकिएन,’ एक प्रहरीले भने, ‘अनुसन्धान आफूमाथि केन्द्रित हुन थालेको चाल पाएर पाएर भागेका योगेन्द्रलाई इलामबाट पक्राउ गरियो। मंगलबार रमिलाका माइती र योगेन्द्र पक्षबीच बेलबारी प्रहरीमा भएको छलफलमा दुवै पक्ष मिलेर खोजतलास गर्ने सहमति भएको थियो।’ 

प्रहरीले समेत आफन्त र स्थानीयसँग समन्वयमा बेलबारीको बेतना, सुन्दरहरैंचा नगरपालिकाको गछिया, गोठगाउँ आसपास खोजीगरेको थियो। खोलानाल र जंगलमा पनि खोजी गरेको थियो। प्रहरीका अुनसार बुधबार दिउँसो मात्र पत्नीलाई विराटनगरबाट जहाजमार्फत काठमाडौैं पठाएका योगेन्द्र त्यसपछि आफ्नो मोबाइल स्विचअफ गरेर बेपत्ता भएका थिए।‘पत्नीलाई काठमाडौं पठाएर योगेन्द्र फरार भएपछि थप शंका बढेको थियो,’ एक प्रहरीले भने, ‘पछि पक्राउ गरेर अनुसन्धान थाल्दा उनैले हत्या गरेर शव कोसीमा फ्याँकेको पत्ता लाग्यो ।’ हत्या एक्लै गरेको र कसैले सघाए नसघाएको खुल्न बाँकी रहेको प्रहरीको भनाइ छ।

एसपी केसीले योगेन्द्रलाई नियन्त्रणमा लिएर हत्या गरेको भनेर स्वीकार गरेकी महिलाको शव खोज्ने काम तीब्र बनाइएका कारण बाँकी अनुसन्धानमा प्रहरी केन्द्रीत हुन नसकिरहेको जानकारी लिए । अहिले पनि स्थानीय बासिन्दा र आफन्तको सहयोगमा सप्तकोसी नदी आसपासमा प्रहरी शवको खोजीमा खटिएको छ। गुरुङले महिलालाई फागुन १७ गते राति ११ बजे उनकै घरमा छाडिदिएको दावी गर्दै आएका थिए ।

तर ‘सिसी टिभी फुटेज’ मा योगेन्द्रले प्रयोग गर्दै आएको गाडी रातको साढे १२ बजे सुनसरीको इटहरीबाट पश्चिम लागेको र शनिबार विहान साढे ४ बजे सुन्दरहरैंचाको गोठगाउँबाट पूर्व लागेको देखिएको प्रहरी स्रोतले बताएको छ । योगेन्द्रले भनेको कुरा र सिसी टिभी फुटेजको कुरा नमिलेपछि प्रहरीले उनीमाथि अनुसन्धान केन्द्रीत गरेको थियो । 

 

प्रतिक्रिया दिनुहोस्