‘प्रधानमन्त्रीको स्वीस बैंकमा खाता छैन’



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको स्विट्जरल्याण्डस्थित स्वीस बैंकको खातामा ५५ लाख अमेरिकी डलर जम्मा रहेको भन्ने कुरा सहि नभएको प्रधामन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन् ।

प्रेस सल्लाहकार थापाले ‘ग्लोबल वाच एनाइसिस’को हवाला दिँदै प्रकाशित समाचारहरु गैरजिम्मेवारपूर्ण र बदनियताका साथ प्रकाशित भएको दाबी गरेका छन् ।

प्रधानमन्त्री ओलीको स्वीस बैंकमा खाता र ५.५ मिलियन अमेरिकी डलर जम्मा रहेको रिपोर्ट शतप्रतिशत गलत र कपोलकल्पित रहेको पनि उनले बताएका छन् ।

ग्लोबल वाच एनालाइसिसले एक सामग्री प्रकाशित गर्दै ओलीमाथि भ्रष्टाचारको आरोप कुनै नयाँ कुरा नभएको उल्लेख गर्दै स्वीस बैंकमा ओलीको पैसा रहेको दाबी गरेको थियो ।

स्वीस बैंकको खातामा प्रधानमन्त्री ओलीको ५५ लाख अमेरिकी डलर रहेको खुलासा

प्रेस वक्तव्य जारी गर्दै थापाले भनेका–‘राष्ट्रिय हितको रक्षा, सीमा अतिक्रमणविरुद्ध नयाँ नक्सा प्रकाशनको साहसिक कदम र सर्वसम्मतिद्वारा संविधान संशोधन जस्तो महत्वपूर्ण निर्णयमा सिंगो राष्ट्रलाई एकताबद्ध गर्दै प्रधानमन्त्रीले राष्ट्रको नेतृत्व सम्हालिरहनु भएको निकै संवेदनशील वेलामा बदनाम गराउन यस किसिमले सुनियोजित षडयन्त्र गर्ने अनेकन् तत्व रहेको प्रष्ट नै छ ।’

प्रधानमन्त्री ओलीको स्विट्जरल्याण्डस्थित स्वीस बैंकको खातामा ५५ लाख अमेरिकी डलर जम्मा भएको ग्लोबल वाच एनलाइसिसद्वारा जारी प्रतिवेदनमा उल्लेख गरिएको छ । ओली र उनकी पत्नी राधिका शाक्यलाई ५ लाख अमेरिकी डलर बर्सेनी चीनबाट आउने गरेको प्रतिवेदनमा उल्लेख छ ।

ग्लोबल वाच एनलाइसिसले हालै सार्वजनिक गरेको प्रतिवेदनमा प्रधानमन्त्री ओलीलाई सो रकम चीनले दिएको उल्लेख गरिएको छ । चीनले रकम दिन थालेपछि प्रधानमन्त्रीको सम्पति बढ्दै गएको पनि प्रतिवेदनमा उल्लेख छ । सो प्रतिवेदन रोनाल्ड ज्याकार्डले तयार पारेका हुन् ।

प्रकाशित : असार ३१, २०७७

प्रतिक्रिया दिनुहोस्