समुदायमा कोरोना संक्रमण, सुरक्षा क्याम्प उच्च जोखिममा



काठमाडौं : प्रहरी मुख्यालयमा कोरोना संक्रमितको संख्या एकैपटक ‘बुष्टअप’ गरिए झैं ह्वात्तै देखा परेपछि यसले सबैलाई चिन्तित बनाएको छ । समूहमा कोरोना फैलिइनसकेको, विदेशबाट आएकामा मात्र कोरोना संक्रमण देखिएको साथै यो अझैं पनि आयातित नै रहेको भनिरहेका बेला नेपाल प्रहरी मुख्यालयमा ठूलो संख्यामा संक्रमित भेटिएपछि कोरोना अब आयातित मात्र नरहेको पुष्टि भएको छ ।

आमजनता र तिना क्रियाकलासँग सन्निकट रही काम गर्ने नेपाल प्रहरी र सशस्त्र प्रहरीका कनिष्ठ तहका प्रहरी कर्मचारीहरुमा कोरोना संक्रमण बढ्दै गएको तथ्यांकले देखाएको छ । प्रहरी प्रधान कार्यालय अन्तर्गत सवारी महाशाखाका पाँच चालक, अन्य शाखाअन्तर्गतका तीन चालक, सञ्चार निर्देशनालयको मेसमा कार्यरत एक सहयोगीसहित दुई प्रहरी तथा डीआईजी र एसएसपीका दुई निजी चालक गरी १३ जनामा संक्रमण पुष्टि भएको छ  ।

त्यसैगरी प्रदेश प्रहरी कार्यालय विराटनगरमा १९ जना झापाको काँकडभिट्टास्थित सीमा सुरक्षा बेसक्याम्पमा २० जना र इलाममा ५ जनामा कोरोना संक्रमण भेटिएको छ । पीसीआर रिपोर्ट पोजेटिभ आएसँगै उनीहरु सबैलाई क्वारेन्टाइनमा राखिएको छ । कर्मचारीको बाक्लो आवतजावत हुने र दोहरीतेहरी काम गर्नुपर्ने कतिपय सवारी महाशाखा र सञ्चार निर्देशनालय आदिलाई सिल गरिएको जनाइएको छ ।

संक्रमण नफैलियोस् र नियन्त्रणमा लिन सकियोस् भन्ने उद्देश्यले रोकथामका उपायहरुमध्ये कार्यालयमा काम गर्दाका बखत सामाजिक दुरी कायम गर्ने, अनिवार्य मास्क लगाउने र शंका लागेकालाई आइसोलेसनमा राखिएको छ । मानिसको आवतजावत हुने र सामूहिक उपस्थिति रहने स्थान जस्तै मेस, खाजा घर, वेटिङ रुम, पानी धारा तथा वाथरुम र ट्वाइलेटहरुका उच्च निगरानी र सतर्कता अपनाइएको बताइएको छ ।

कामका लागि ब्यारेक बाहिर आवतजावत गरिरहने प्रहरी कर्मचारीमा संक्रमणको उच्च जोखिम देखिएको अनुसन्धानका क्रममा खुलेको बताइएको छ । यसले ब्यारेक बाहिर आम जनतामा व्यापक मात्रामा कोरोना संक्रमण फैलिइरहेको पुष्टि गर्दछ । हाल जनपद प्रहरी मुख्यालय नक्साल र सशस्त्र प्रहरी मुख्यालय हलचोकले कारोना संक्रमण रोकथामका लागि आन्तरिक रुपमा विशेष आचारसंहिता र नियमहरु बनाएर प्रभावकारीरुपमा प्रयोगमा ल्याउन लागि परिरहेका छन् ।

प्रकाशित : साउन १२, २०७७

प्रतिक्रिया दिनुहोस्