‘मास्क छैन भने कारवाही हुन्छ, तर सामाजिक दूरीको पालना खै त ?’



जनकपुरधाम : गृह मन्त्रालयले मास्क नलगाई घरबाहिर निस्कने र सामाजिक दूरी कायम नगर्ने व्यक्तिलाई पक्राउ गर्न देशभरिका जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएपछि जनकपुरमा आज (सोमबार) बिहानैदेखि प्रहरीले विभिन्न ठाउँहरुमा चेकजाँच गरिरहेको छ । मन्त्रालयको परिपत्रपछि मास्क नलगाउनेलाई धमाधम कारवाही गर्न थालिएको छ । तर मास्क नहुनेलाई कारवाही गर्ने चक्करमा सामाजिक दूरीको धज्जिया उडाइएको तलको यस तस्बिरमा प्रष्ट हेर्न सकिन्छ ।

जनकपुरमा समाचार तयार पार्दासम्म विभिन्न चोकहरुबाट मास्क नलगाई बाटोमा हिँड्ने एक हजारभन्दा बढी व्यक्तिलाई पक्राउ गरी कारवाही गरिएको छ । एकातर्फ मास्क नलगाएकालाई कारवाही र अर्कोतर्फ प्रहरीद्वारा नै सामाजिक दूरीको उल्लंघन !

जनकपुरको जिरोमाइलमा मात्रै एक सयभन्दा बढी व्यक्तिलाई कारवाही स्वरूप २ घण्टा नियन्त्रणमा राखिएको थियो । उनीहरुलाई करिव २ घण्टासम्म जीरोमाइलस्थित पार्कमै थुनिएको थियो भने जानकीचोकमा पनि मास्क नलगाएका व्यक्तिलाई घण्टौ घाममै उभिन लगाइएको थियो ।

जिरोमाइलका स्थानीय राजिव मिश्रा रोशनले भने,‘धनुषा प्रहरीको काम गर्ने शैली नै ठिक छैन । जिरोमाइल प्रहरीले मास्क नलगाएकालाई कारवाही गर्ने नाममा सामाजिक दूरीको धज्जिया उडाउँदै सयौंको भिड जम्मा गरेर कोरोना नियन्त्रण गर्ने कुरा त परै जाओस् यस्तो तालले पक्कै कोरोना फैलिनबाट कसैले बचाउन सक्दैन् ।’ स्थानीय प्रशासनले कानुन पालना गराउने नाममा असभ्यताको सिमा पार गरिरहेको उनको आरोप छ ।

यता, सरकारले लकडाउन खोलेपछि मानिसहरु बिना काम बाहिर निस्कने, मास्क नलगाउने, सामाजिक दूरी कायम नगर्ने देखिए पछि गृह मन्त्रालयको आदेश अनुसार यस्तो कदम चालिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

घरबाहिर निस्कदा मास्क नलगाई बाटोमा यात्रा गर्ने र सामाजिक दूरी कायम नगर्नेलाई तत्काल पक्राउ गर्न देशका ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएपछि प्रहरी आफ्नो ड्युटीमा खटिएका हुन् । तर, मास्क खोज्ने प्रहरीले सामाजिक दूरीको पालना गराउने दायित्व बिर्सने हो र ?

प्रकाशित : साउन १२, २०७७

प्रतिक्रिया दिनुहोस्