स्थानीय तहमा नातवाद हावी, वडाध्यक्षले दिए बुहारीलाई जागिर



विराटनगर : विराटनगर महानगरपालिका–१३ का वडा अध्यक्ष झरीलाल महतोमाथि स्वास्थ्य बीमा कर्तामा आफ्नी बुहारीलाई जागिर लगाएको आरोप लागेको छ। योग्य महिला स्वास्थ्य स्वयंसेविका हुँदा हुँदै महतोले बुहारी दिवीया घतानीलाई जागिर दिएको आरोप लागेको हो। वडा कार्यालयले स्वास्थ्य बीमा कर्ता पास गरेका महिला स्वास्थ्य स्वयंसेविकालाई प्राथमिकता दिने भन्दै सूचना जारी गरेको थियो।

तर, महिला स्वास्थ्य स्वयंसेविकाद्वय आशा झा र गीता ओझा घिमिरेले आफूहरूलाई वाइपास गरि कुनै पनि भूमिका नरहेकी बुहारीलाई जागिर दिएको आरोप लगाए। उनीहरूका अनुसार स्वास्थ्य बीमा कर्ता नियुक्ती गर्ने अन्तरवार्तामा वडा अध्यक्ष महतो आफैं बसेका थिए। विराटनगरमा मंगलबार पत्रकार सम्मेलन गरेर वडाध्यक्षले बुहारी नियुक्त गरेको र अनुभवी एवं योग्य स्वास्थ्य स्वयंसेविकालाई पाखा लगाएको आरोप उनीहरूले लगाए।

महिला स्वयंसेविका जमुना गौतमले अन्तरवर्तामा वडा अध्यक्ष महतोसँगै वडा सचिव शम्भु साह र महानगरको स्वास्थ्य महाशाखाका एपोलो भगत सहभागी थिए। उनीहरूकै मिलेमतोमा वडाध्यक्ष महतोले आफ्नी बुहारीलाई नियुक्ती दिएको उनले बताइन्। गौतमले बुहारीलाईनै नियुक्त गर्न वडाध्यक्ष स्वयं अन्तरवर्तामा बसेर स्वास्थ्य क्षेत्र भन्दा बाहिरका प्रश्न सोध्ने गरेको बताइन्।

यता वडाध्यक्ष महतोले प्राबधान भन्दा बाहिर गएर कसैलाई पनि नियुक्ती नदिएको बताए। उनले सूचना अनुसार नै स्वास्थ्य बीमा कर्ता नियुक्त गरेको भन्दै आफ्नी बुहारी योग्य रहेकाले नियुक्ती दिएको दावी गरे। उनले कोही कसैले पनि विरोध गर्नुको औचित्य नभएको प्रतिक्रिया दिए।

यस अघि वडा नम्बर ९ मा समेत महिला स्वास्थ्य स्वयंसेविकालाई वाइपास गरेर स्थानीय एक महिलालाई वडा अध्यक्ष विश्वनाथ भगतले नियुक्त गरेका थिए। दुई जना महिला स्वास्थ्य स्वयंसेविकाले आवेदन दिए पनि सहमति विपरित स्थानीय रेणु गुप्तालाई स्वास्थ्य बीमा कर्तामा नियुक्त गरिएको थियो। स्वास्थ्य बिमा कर्ताले स्वास्थ्य विमा गराए बापत कूल रकमको १० प्रतिशत पाउने प्राबधान रहेको छ। 

प्रतिक्रिया दिनुहोस्