पौने अर्ब खर्च, सधैं पहिरो झर्छ



तानसेन : पत्रे चट्टान रहेको सिद्धबाबा क्षेत्रको सडकमा पहिरो गइरहन्छ। त्यसको रोकथाम गर्न संघीय सरकारको बजेटमा कार्यक्रम पर्न थालेको पनि तीन वर्ष भयो। सिद्धार्थ राजमार्गमा पर्ने यो खण्ड मर्मत गर्न हरेक वर्ष ५ करोडदेखि ८ करोडसम्म बजेट खर्च भएको छ। १० वर्ष अवधिमा करिब पौने अर्ब बजेट सकियो तर सडक फेरिएको छैन।

हिउँद र वर्षा दुवै याममा यात्रुले भगवान् भरोसामा यात्रा गर्नुपर्ने बाध्यता रहेको तानसेन–३ का राजेन्द्रगोपाल सिंहले बताए। तिनाउँ गाउँपालिका–३ सिद्धबाबा क्षेत्र प्रमुख समस्याग्रस्त रहे पनि हाल आएर झुम्साको पानी मिल, कालीमाटी र तानसेनको गौडेपुल क्षेत्र सबैभन्दा जोखिमका क्षेत्र बन्दै गएका छन्।

यो राजमार्गमा पाँच वर्ष अवधिमा डिभिजन सडक कार्यालयबाट २० करोड रुपैयाँ खर्च भएको देखिन्छ। ८० प्रतिशत रकम सिद्धबाबा क्षेत्रको सडक सुधारमा खर्च भए पनि सडकको अवस्था दिनहुँ जटिल बन्दै गएको छ।

कार्यालयका सूचना अधिकारी शिव खत्रीले यो वर्ष राजमार्गअन्तर्गत पाल्पा–बुटवल खण्डमा ७ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको बताए। उनका अनुसार यो रकमबाट भासिएको सडक मर्मत गरिनेछ। स्तरोन्नति गरिनेछ। दोहोरो सवारी साधन चलाउन मिल्ने बनाइनेछ।

पाल्पा, गुल्मी, स्याङ्जाको तराईसँग जोडिने प्रमुख सडक सिद्धार्थ राजमार्गको यो खण्ड सधैं जोखिममा छ। ३९ किलोमिटर सडक पार गर्न सार्वजनिक सवारी साधनमा दुई घण्टा लाग्छ। सडकका अधिकांश भाग भत्किएका छन्। सडक दायाँबायाँ अतिक्रमणमा परेको छ।

यो सडकको वैकल्पिक मार्ग बनाउन कैयौं गोष्ठी भए। गत वर्ष सुरुङमार्ग बनाउने योजना बन्यो। चालू वर्षका लागि बजेट विनियोजन भएको छ। प्रदेश सरकारले सुरुङ नभई चट्टान काटेर ढुंगा बेच्ने योजना बनाएको छ। सिद्धबाबा क्षेत्रको वैकल्पिक सडकका रूपमा दोभान–नुवाकोट–बेलवास सडकलाई अघि सारिएको छ। यो सडक पनि अलपत्र छ। २ पक्की पुल निर्माण पूरा भए पनि सडक बनेकै छैन। अर्काे विकल्पका रूपमा झुम्सा–चरंगे–देववह सडकको ट्र्याक मात्र खोलिएको छ। दुवै वैकल्पिक सडक प्रदेश सरकारको मातहतमा भए पनि समयमा काम हुन सकेको छैन।

‘चरंगे सडकलाई चालु वर्षमा सवारी साधन सञ्चालन गर्ने गरी काम गरिनेछ’, मुख्यमन्त्री शंकर पोखरेलले प्रस्तुत गरेको बजेट भाषणमा उल्लेख छ। तेस्रो वैकल्पिक सडकको रुपमा तानसेन–बाँसटारी–झडेवा दुम्कीवास सडकलाई अगाडि सारिएको छ। यो सडक कालोपत्रे गरी सवारी साधन सञ्चालन गर्न २ अर्ब रकम लाग्ने माथागढी गाउँपालिकाले जनाएको छ।

सिद्धार्थ राजमार्गअन्तर्गत तानसेन–बुटवल खण्डमा पछिल्लो ५ वर्षमा ४० वटा सवारी साधन दुर्घटना भए। त्यसमा ४८ जनाले ज्यान गुमाए। ७५ जना अंगभंग भए। यो सडकखण्डको सिद्धबाबा क्षेत्रमा यात्रुले वर्षौंदेखि समस्या भोग्दै आएका छन्। सडकको दयनीय अवस्थाले यात्रु हैरानीमा पर्दै आएका छन्। ३९ किलोमिटर सडकको यात्रा जोखिमपूर्ण बन्दै गएको छ। तानसेन बजारबाट प्रभाससम्म नगरपालिकाले सडक चौडा गर्ने क्रममा पहिरोग्रस्त बनेको छ। प्रभासबाट चिडिया खोला क्षेत्रमा ठूला पहिरोले सडक दिनहुँ अवरुद्ध हुँदै आएको छ।

पहिरो नियन्त्रणमा नलाग्दा समस्या निम्तिएको हो। ‘हामी ज्यान हत्केलामा राखेर हिँडिरहेका छौं। वर्षौं भयो यो सडक यस्तै छ’, पाल्पा दोभानका अर्जुन पाण्डेले भने, ‘सडक टाल्ने काम हुन्छ। महिना दिनमा पुरानै रूपमा फर्किन्छ।’ उनका अनुसार यहाँको मुख्य समस्या भनेकै पहिरो हो। अन्नपूर्ण पोष्ट दैनिकमा कृष्ण पोखरेलले लेखेका छन् ।

प्रकाशित : साउन २५, २०७७

प्रतिक्रिया दिनुहोस्