सिन्धुपाल्चोकको लिदी पहिरो : थप दुई जनाको शव भेटियो, मृतकको संख्या १३ पुग्यो



सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको लिदी गाउँमा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १३ पुगेको छ । शनिबार विहान थप दुई जनाको शव भेटिएपछि मृतकको संख्या १३ पुगेको हो । २५ जना अझै हराइरहेका छन्‌ ।​

पहिरोमा पुरिएकामध्ये ५ जनाको शव शुक्रबार दिउँसो र थप ६ जनाको शव अपराह्न फेला परेको थियो । पहिरोमा ३८ जना पुरिएर बेपत्ता भएका थिए । ​

गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठका अनुसार पहिरोबाट निकालिएका शवको सामूहिक अन्त्येष्टि गर्नेे तयारी भइरहेकाे छ । ​शुक्रबार बिहान जुगल गाउँपालिका-२ गोल्चे, लिदीमा बस्ती माथिबाट निकै ठूलो पहिरो खसेको थियो ।

पहिरोले त्यहाँका ३७ घर ध्वस्त पारेको छ । पहिरोले ठूलो क्षति भएको खबर आएपछि सभामुख अग्‍निप्रसाद सापकोटा बिहानै हेलिकोप्टरमा त्यहाँ पुगेका थिए ।

त्यसपछि गृहमन्त्री रामबहादुर थापा बादल सेनाको हेलिकोप्टरमा पुगेर राहत वितरण गरेका थिए । हराइरहेकाहरुको खोजी गर्न पहिरोमा अब स्काभेटर चलाउने तयारी भइरहेको छ। राति पानी परेकाले उद्धारकार्य प्रभावित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्