आजदेखि सिपिएल शुरु हुँदै



काठमाडौंः आजदेखि नेपाली क्रिकेट सन्दीप लामिछानेले खेल्ने क्यारेबियन प्रिमियर लिग (सिपिएल) शुरु हुँदैछ ।

ट्रिनिडाड एण्ड टोबागोमा आज राति ७ः ४५ बजेदेखि सिपिएल शुरु हुनेछ । पहिलो खेल बुधबार राति ७ः४५ बजे खेल्ने सन्दीप सम्मिलित जमैका तल्लाहवाजले पहिलो खेल सेन्ट लुसियासित खेल्ने छ ।

सिपिएल खेल्न आफू निकै उत्साहित भएको सन्दीपले बताएका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो भनाइ सार्वजनिक गर्दै उनले कोरोना महामारीका कारण लामो समयपछि क्रिकेट खेल्न पाउँदा खुशी लागेको बताएका हुन् ।

सन्दीप सिपिएल खेल्न गत साउन १५ गते ट्रिनिडाड एन्ड टोबागो गएका थिए । नियमित उडान बन्द गरिएको अवस्थामा उनी कोरियन एयरको चार्टर्ड जहाजमा टोबागो गएका थिए ।

यसबीच उनले २ पटक पिसिआर परीक्षण गराएका थिए । नेपाल र टोबागोमा गरिएको पिसिआर परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको थियो । उक्त रिपोर्टसँगै सन्दीपले सिपिएल खेल्ने बाटो खुला भएको हो ।

यस यामको सिपिएलका लागि जमैका तल्लावाहजले सन्दीपलाई ९० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो । उनले यसअघि दुई पटक सिपिएल खेलिसकेका छन् । सिपिएल भदौ २५ गतेसम्म चल्ने छ ।

सिपिएलमा जमैकासँगै बार्बेडोस् ट्रिडेन्ट्स, ट्रिनबागो नाइट राइडर्स, गुएना अमेजन वारियर्स, सेन्ट लुसिया जौउक्स र सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्सले प्रतिस्पर्धा गर्दै छन् । सिपिएलमा कूल ३३ खेल हुने छन् ।

कोरोना भाइरसका कारण ती सबै खेल बिना दर्शक खेलाइने छन् । आज पहिलो खेल राति ७ः४५ बजे ट्रिनबागो नाइट राइडर्स र गुएना वारियर्सबीच तथा अर्को खेल भोलि बिहान ३ः १५ बजे बारबाडोस र सेन्ट किट्सबीच हुने बताइएको छ ।

प्रकाशितः भदौ २, २०७७

प्रतिक्रिया दिनुहोस्