देशभर लक्षणसहितका संक्रमित थपिदैँ, अधिकांशमा ज्वरो, खोकी र सास फेर्न अप्ठेरो



काठमाडौं : पछिल्लो केही दिनयता लक्षणसहितका कोरोना भाइरस संक्रमितहरू देखिन थालेका छन् । सम्बन्धित जिल्लाका स्वास्थ्य कार्यालयका अधिकारीका अनुसार संक्रमितमा लक्षण देखिन थालेका हुन् ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजंग शाहका अनुसार संक्रमितमा लक्षण देखिन थालेको छ । उनले भने, ‘मुख्यतः संक्रमितमा ज्वरो र खोकी लागेको छ । केही संक्रमितलाई अक्सिजनसमेत आवश्यक परेको छ ।’

स्वास्थ्य कार्यालय झापाका प्रमुख ईश्वरी पौडेलले पनि संक्रमण थप जटिल बन्दै गएको बताए । उनले भने, ‘लक्षणसहितका संक्रमितमा सास फेर्न अप्ठेरो भएको पनि छ । बिस्तारै यो क्रम बढ्न सक्छ ।’ अधिकांश जिल्लामा सक्रिय संक्रमित हुनेहरूमा दीर्घ रोगी रहेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख योगेन्द्रप्रसाद भगतले लकडाउन खुलेयता लक्षणसहितका संक्रमित देखिन थालेको बताए । उनले भने, ‘सक्रिय संक्रमितमा ज्वरो आउने र खोकी लाग्ने जस्ता लक्षण देखिएको छ । उहाँहरूलाई आइसोलेसनमा राखिएको छ ।’ सक्रिय संक्रमितको संख्या बढ्दै गएको भन्दै सचेत र सतर्क रहन चिकित्सकले आग्रह गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ११ हजार १ सय १८ जना सक्रिय संक्रमित रहेका छन् ।

यस्तै, बुधबार नेपालमा थप ६ सय ८१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या २८ हजार ९ सय ३८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १ सय २० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म १७ हजार ७ सय उपचारपछि निको भएका छन् ।

यस्तै, काठमाडौं उपत्यकामा बुधबार १ सय ५९ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा काठमाडौंमा १ सय ३४, ललितपुरमा १७ र भक्तपुरमा ८ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । योसँगै काठमाडौंमा कोरोना संक्रमित हुनेको संख्या १ हजार ९ सय ८७, ललितपुरमा १ सय ५० र भक्तपुरमा १ सय ७१ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म १ सय २० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

बुधबार मात्रै ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । काठमाडौं र बर्दियाका एक-एक जना पुरुष, मोरङ, भक्तपुर, चितवन र सुनसरीका एक÷एक जना महिला गरी बुधबार ६ जनाको मृत्यु भएको हो ।

हालसम्म देशभर ५ लाख ५४ हजार ३ सय ८८ जनाको आरटी–पिसिआर प्रविधिबाट कोरोना परीक्षण गरिएको छ । हाल देशभर १३ हजार ५ सय ७१ जना क्वारेन्टिनमा बसेका छन् । आजको राजधानी दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्