उपत्यकामा ९५० शैय्याको एकीकृत क्वारेन्टाइन सञ्चालन



काठमाडौंँ : वैदेशिक रोजगार कल्याणकारी कोषको खर्चमा उद्धार उडानबाट आउने व्यक्तिलाई राख्न सोमबारबाट काठमाडौँ उपत्यकामा ९५० शैय्या भएको एकीकृत क्वारेन्टाइन सञ्चालनमा ल्याइने भएको छ ।

मन्त्रिपरिषद्बाट काठमाडौँं, ललितपुर र भक्तपुरमा एकीकृत क्वारेन्टाइनको प्रबन्ध तथा व्यवस्थापन गर्न गृहसचिव महेश्वर न्यौपानेको संयोजकत्वमा गठित समितिको आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको छ । समितिका सदस्यसचिव एवं गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले ९५० जना तत्काल बस्ने गरी एकीकृत क्वारेन्टाइन सञ्चालन गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार काठमाडौँंको सामाखुशी र कीर्तिपुरमा रहेको राधा स्वामी व्यास केन्द्रमा आठ सय जनालाई राखिने छ । त्यसैगरी जावलाखेलमा रहेको प्रशासनिक प्रशिक्षण केन्द्र स्टाफ कलेजमा सय र चाँगुनारायण नगरपालिकाको तेलकोटा भवनमा ५० जनालाई राखिने छ ।

भदौ ४ गते बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौँं उपत्यका एकीकृत क्वारेन्टाइन व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक, काठमाडौँं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी, सबै सुरक्षा निकायका उपत्यका हेर्ने अधिकारीलगायतको बैठकले ९५० शैय्याको एकीकृत क्वारेन्टाइन तत्कालै सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।

सामाखुशीमा रहेको राधा स्वामी व्यास केन्द्रमा यसअघि होल्डिङ सेन्टर सञ्चालन गरिएकोमा अब एकीकृत क्वारेन्टाइन सञ्चालन गर्न लागिएको हो । सो स्थानमा नेपाली सेनाले अहिले पनि सुरक्षा दिइरहेको छ ।

मन्त्रालयका सहप्रवक्ता प्रेमलाल लामिछानेका अनुसार सरकारले छ हजार जना बस्न सक्ने एकीकृत क्वारेन्टाइन व्यवस्थापन गर्न भनेकाले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी र स्थानीय तहको समन्वयमा थप स्थानको पहिचान गरिनेछ । यो समितिले एकीकृत क्वारेन्टाइन प्रबन्ध तथा सञ्चालन काठमाडौँ उपत्यकाका तीनवटै जिल्लाका जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)मार्फत सम्बन्धित स्थानीय तहको समन्वयमा गर्नुपर्ने छ ।

अब पहिचान हुने क्वारेन्टाइन स्थलको निर्माण, मर्मतलगायतका अत्यावश्यक कार्य सहरी विकास तथा भवन निर्माण विभागमार्फत गरिने छ भने सुरक्षा व्यवस्थापन नेपाली सेनाले गर्ने गरी जिम्मेवारी तोकिएको छ । क्वारेन्टाइन सञ्चालन गर्दा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तोकेको मापदण्डको पालना गर्ने गराउने र काठमाडौँ उपत्यकाका एकीकृत क्वारेन्टाइनको अनुगमन गर्ने जिम्मेवारी समितिलाई दिइएको छ ।

वैदेशिक रोजगार कल्याणकारी कोषको खर्चमा उद्धार उडानबाट आउने व्यक्तिहरूलाई एकीकृत क्वारेन्टाइनमा राख्ने र क्वारेन्टाइनमा रहँदाको खर्च वैदेशिक रोजगार कल्याणकारी कोषबाट जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको सिफारिसमा क्वारेन्टाइन रहेको स्थानीय तहलाई उपलब्ध गराइने निर्णय मन्त्रिपरिषद्ले गरिसकेको छ ।

वैदेशिक रोजगार कल्याणकारी कोषको खर्चमा उद्धार भएका बाहेक एकीकृत क्वारेन्टाइनमा बस्ने अन्यको हकमा क्वारेन्टाइनमा रहँदाको खर्चबापतको रकम जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको सिफारिसमा क्वारेन्टाइन रहेको स्थानीय तहको कोरोना कोषबाट उपलब्ध गराइने छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँ उपत्यकामा रहेका सरकारी अस्पताल, आवश्यकता अनुसार अन्य निजी, सामुदायिक एवं शिक्षण अस्पताल र स्वास्थ्य प्रतिष्ठान समेतलाई प्रयोगमा ल्याई हाललाई कम्तीमा छ हजार आइसोलेसन बेडको प्रबन्ध गरिने छ ।

यसैबीच दुबईमा अड्किएका नेपाली उद्धार उडानमार्फत आइतबार राति स्वदेश फर्किएका छन् । नेपाल वायु सेवा निगमको वाइडबडी ए–३३० जहाजले २६२ यात्रु र दुई शिशु लिएर काठमाडौं ल्याएको निगमले जनाएको छ । उद्धार गरिएका नेपालीलाई उपत्यकास्थित एकीकृत क्वारेन्टाइनमा राखिने छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्