इटहरीमा बर्ड फ्लू भेटियो



इटहरी : सुनसरीको इटहरी उपमहानगरपलिका १८ मा रहेको बी एण्ड जी अर्गानिक कृषि फर्ममा पालिएका कुखुरा र हाँसमा बर्ड फ्लू भेटिएको छ। फर्ममा बर्ड फ्लू भेटिएपछि २ हजार १ सय लोकल कुखुरा र ८ सय ४७ वटा हाँस नष्ट गरिएको छ।

भेटनरी अस्पतल सुनसरीका डाक्टर मनोजकुमार महतोका अनुसार राजु बस्नेतले खोलेको फर्ममा आठ दिनअघिदेखि कुखुरा मर्न थालेका थिए। ‘अघिल्लो बिहीबार फर्म सञ्चालक कुखुराको मृत्युदर बढेको भनी भेटनरी अस्पताल आएपछि नमूना लिएर परीक्षणका लागि पठायौं,’ महतोले भने, ‘रिपोट आएपछि बर्ड फ्लू नै भएको पुष्टि भएपछि कुखुरा र हाँस नष्ट गरिएको हो।’

६ वर्षसम्म कतारमा बसेर फर्केपछि २९ वर्षीय राजुले नेपाल बैकबाट ८ लाख ५० हजार ऋण लिएर डेढ वर्षदेखि लोकल कुखुरा र हाँस पाल्दै आएका थिए। ‘बर्ड फ्लु भएको पुष्टि भएर कुखुरा मार्न पुग्दा प्रायः सवै कुखुरा मरि सकेका थिए, हाम्रो टोलीले हाँस भने आठ सय ४७ वटा मारेर नष्ट गर्यो’, उनले नागरिकसँग भने। उनका अनुसार बर्ड फ्लु भएको पत्ता लागेपछि बस्नेतको फर्ममा रहेको तीन सय केजी दाना र आठ कार्टुन अण्डा पनि नष्ट गरिएको छ।

बस्नेतको फर्मसँगै आसपासका तीन किलोमिटर क्षेत्रमा अहिले उच्च सर्तकता अपनाइएको छ। यो वर्ष बस्नेतको फर्ममा पहिलोपल्ट बर्ड फ्लु भएको पत्ता लागेको हो। फर्ममा रहेका कुखुरा, हाँस, दाना र अण्डा नष्ट गर्दा बीस लाखभन्दा बढी क्षती भएको बस्नेतले बताए। 

प्रतिक्रिया दिनुहोस्