शेयर बजार बढ्ने क्रम जारी, आज १ अर्ब ८५ करोडको कारोबार



काठमाडौंः शेयर बजार उकालो लाग्ने क्रम आज पनि जारी छ । अघिल्लो दिनको कारोबार २१.२६ अंकले बढेको बजार मंगलवार भने ९.३४ अंकले उकालो लागेको हो ।

मंगलवार नेप्से परिसूचक १ हजार ४४०.९४ विन्दुमा पुगेको छ । त्यस्तै यो दिन ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स ०.८३ प्रतिशत बढेर २९३.९७ विन्दुमा पुगेको छ ।

मंगलवार १८९ ओटा कम्पनीको २४ हजार १०१ पटकको व्यापारमा १ अर्ब ८५ करोड ५१ लाख ८० हजार बराबरको ३९ लाख ४० हजार ६९१ कित्ता शेयर खरीदविक्री भएको छ ।

कारोबार रकमले पनि यो दिन बजारलाई साथ दिएको छ । अघिल्लो दिन सोमवार बजारमा २ अर्ब १३ करोड ९२ लाख २ हजार बराबरको कारोबार भएको थियो । अघिल्लो कारोबार दिनको तुलनामा भने परिसूचक र कारोबार रकम वृद्धिमा भने कमि देखिएको छ ।

मंगलवारको कारोबारमा सर्वाधिक रकमको हिस्सा नेपाल पुनर्बीमा कम्पनीले ओगटेको छ । उक्त कम्पनीको २८ करोड ७४ लाख ५ हजार बराबरको शेयर कारोबार भएको हो । सर्वाधिक कारोबारमा रहँदै आएको उक्त कम्पनीको शेयरमूल्य प्रतिकित्ता ४८ ले बढेको छ ।

सर्वाधिक कारोबार गरेको उक्त कम्पनीको शेयरमूल्य पनि यो दिन सर्वाधिक बढेको हो । उक्त कम्पनी सर्वाधिक मूल्य बढ्नेमा पहिलो नम्वरमा र आशा लघुवित्त वित्तीय संस्था दोस्रो नम्बरमा रहेको छ । आशा लघुवित्तको शेयरमूल्य मंगलवार ६.१९ प्रतिशत अर्थात् प्रतिकित्ता ४३ ले बढेर अन्तिम मूल्य ७३८ कायम भएको छ ।

यो दिन सर्वाधिक गुमाउनेमा समृद्धि फाइनान्सका शेयरधनीहरु रहेका छन् । यस दिन समृद्धि फाइनान्सको शेयरमूल्य ६.५४ प्रतिशत अर्थात प्रतिकित्ता १० ले घटेर अन्तिम मूल्य १४३ कायम भएको हो ।

कोरोना महामारीका कारण अन्य क्षेत्रको व्यवसाय अस्तव्यस्त भइरहेको अवस्थामा शेयर बजारले भने गति लिइरहेको छ । पछिल्लो समय अनलाईन कारोबार बढ्दै जाँदा शेयर बजारले गति लिन थालेको हो ।

घर वाहिर निस्कन नसक्ने अवस्थामा घरमै वसेर व्यवसाय गर्ने उत्तम क्षेत्र यतिवेला शेयर बजार भएको व्यवसायीहरु बताउँछन् । वित्तीय क्षेत्रमा प्रयाप्त लगानीयोग्य पूँजी हुनुले पनि यो क्षेत्रमा लगानी गर्नेको संख्या दिनप्रतिदिन बढ्दै गएको पाइन्छ ।

कारोबारमा आएका १२ ओटा समूहमध्ये व्यापारिक समूहको ०.३५ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको ०.२५ प्रतिशत र म्युचुअल फण्ड समूहको ०.१२ प्रतिशत परिसूचक घटेको छ भने बाँकी समूहको बढेको छ । यस दिन सबैभन्दा बढी परिसूचक अन्य समूहको २.२ प्रतिशतले बढेको छ ।

प्रकाशितः ९ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्