सामसुङले ल्यायो अमेरिकी सेनाका लागि विशेष फोन



काठमाडौं : सामसुङ कम्पनीले अमेरिकी सेनाका लागि विशेष फोन उत्पादन गरेको छ । सामसुङले सैन्य प्रयोगका लागि लक्षित गर्दै एक विशेष संस्करणको फोम डिजाइन गरेको हो ।

गत मे महिनामा आधिकारिक रुपमा घोषणा गरिएको उक्त स्मार्टफोन गत हप्ताबाट मात्रै अमेरिकी सरकार तथा त्यहाँको रक्षा मन्त्रालयलाई उपलब्ध गराइएको छ ।

सामसुङ ग्यालेक्सी ए२० ट्याक्टिकल इडिसन नाम दिइएको उक्त फोन अमेरिकाको संघीय सरकार र रक्षा मन्त्रालय मातहतका कार्यहरुका लागि तयार गरिएको हो ।

ग्यालेक्सी एस २० ट्याक्टिकल इडिसन फोन केवल लक्षित योजना, तालीम, अपरेसन तथा सो सँग सम्बन्धित दैनिक प्रयोगका लागि हुने सामसुङले जनाएको छ । तर, हाल उक्त फोन सर्वसाधारणले खरीद गर्न पाउने छैनन् । अमेरिकाका निकै सिमित सरकारी संयन्त्रबाट मात्रै उक्त फोन बिक्री गरिएको छ ।

यो फोनमा ट्याक्टिकल रेडियो, ड्रोन फिड्स, लेजर रेन्ज फाइन्डर्स, एक्स्टर्नल जिपिएस जस्ता सैनिक मिसनमा आवश्यक फिचरहरु उपलब्ध छन् । साथै यो फोनमा नाइट भिजन मोड, स्टिल्थ मोड लगायतका विशेष फिचरहरु समेत रहेका छन् ।

यसमा सैनिकहरुलाई रातको समयमा नाइट भिजन चस्मासँग फोनको प्रयोग गर्न र फोनको सिग्नललाई अन्य उपकरणहरुले पत्ता लगाउन नसक्ने गरी गोप्य ढंगले सञ्चार सम्पर्कमा प्रयोग गर्न सम्भव तुल्याउनेछ ।

फोनको डिस्प्लेमा अटो टच सेन्सिटीभिटी रहेको छ, जसका कारण हातमा पञ्जा लगाएर समेत फोन चलाउन सकिनेछ । यसमा ६४ मेगापिक्सेलको मूख्य क्यामरा रहेको छ, जसले ८के भिडियो रेकर्ड गर्न सक्दछ । एजेन्सी

प्रकाशित : भदौ ९, २०७७

प्रतिक्रिया दिनुहोस्