ओखलढुङ्गा दुर्घटना अपडेट : ज्यान गुमाएका सबैको सनाखत



ओखलढुङ्गा : ओखलढुङ्गामा स्कार्पिओ जीप दुर्घटनामा ज्यान गुमाएका सबै ६ जनाको सनाखत भएको छ । आइतबार दिउँसो जिल्लाको मानेभञ्ज्याङ्ग गाउँपालिका–६ हिलेपानी नजिकै भडारे खोलामा स्कार्पियो दुर्घटनामा ज्यान गुमाएका सबै ६ जनाको सनाखत भएको हो । 

दुर्घटनामा ताप्लेजुङको ओलाङचुङगोलाका ५५ वर्षीय मिङ्मा शेर्पा, ताप्लेजुङको फत्तालुङका ४५ वर्षीय साम्गेल शेर्पा, काठमाडौं बौद्धका ४० वर्षीय ङवाङ सेर्तुङ शेर्पा, सोही ठाउँका ३५ वर्षीय नोर्बु शेर्पा, वाङ्दा शेर्पा र डोमा शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिए । 

उनका अनुसार ज्यान गुमाएकामध्ये चार पुरुष र दुई महिला छन् । सोलुखुम्बुको जुनबेसी गुम्बाबाट पूजापाठ गरेर काठमाडौं फर्कंदै गरेको बा १६ च २२०७ नं को जीप दुर्घटनामा परेको थियो । जीप सडकबाट करीब दुई सय मिटर तल खसेको थियो । 

दुर्घटनामा परी चालक कृष्ण श्रेष्ठसहित तीनजना गम्भीर घाइते भएका छन् । घाइतेको उदयपुरको घुर्मीमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौँ पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्