मेसीबिनै इन्टर मिलानलाई हराउने बार्सिलाेनाकाे यस्ताे छ तयारी



एजेन्सी : यूईएफए च्याम्पियन्स लिगअन्तर्गत बुधबार क्याटलान क्लब बार्सिलोनाले इटालियन क्लब इन्टर मिलानको सामना गर्दै छ । यो खेलका लागि चोटका कारण बार्सिलोनाका नियमित कप्तान लिओनल मेसी उपलब्ध हुने छैनन् ।

 

मेसी शनिबार भएको सेभिल्लाविरुद्ध लिग खेलमा घाइते भएका थिए । उनले तीन साता मैदानबाहिर बिताउने छन् । लिगमा केही खराब सुरुवात भए पनि च्याम्पियन्स लिगमा बार्सिलोनाले अपेक्षित सुरुवात गरेको छ । २ खेलको समाप्तिमा टोली समूह ‘बी’ को शीर्ष स्थानमा रहेको छ । बार्साले टोटेनहम र पीएसभीलाई पराजित गरिसकेको छ ।

 

यता इन्टर मिलानले पनि यसअघि दुवै खेल जितेको छ । इन्टर र बार्सिलोनाको खेलमा जित हासिल गर्ने टोलीले दोस्रो चरण छनोटका लागि बलियो दावेदारी पेस गर्नेछ । मेसी अनुपस्थित भएपनि बार्सिलोना जितको लागि तयार रहेको डिफेन्डर जोर्डी अल्बाले बताए ।

 

‘इन्टर बलियो टोली हो । उनीहरुको प्रदर्शन पनि पछिल्लो केहि खेलमा निकै राम्रो रहेको छ । तर हामी तयार छौं । घरेलु मैदानमा जितको लागि नै खेल्नेछौं,’ उनले भने ।

 

‘मेसीको कमि पक्कै महसुस हुनेछ । उनी सबैको लागि महत्त्वपूर्ण खेलाडी हुन् । तर उनको कमी महसुस हुन नदिन अन्य खेलाडी पनि छन् । आउने केही खेलका लागि हामीले मेसीबिनै जित दर्ता गर्नुपर्छ,’ अल्बाले भने ।

 

प्रतिक्रिया दिनुहोस्