सुदूरपश्चिममा एक लाखको परीक्षण गर्ने तयारी



धनगढी: सुदूरपश्चिम प्रदेशमा सरकारले थप एक लाखको कोरोना परीक्षण गर्ने गरी तयारी थालेको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले ९ वटै जिल्लामा थप एक लाखको कोरोना परीक्षण गर्ने गरी तयारी थालिएको जानकारी दिएका छन् ।

संघिय सरकारसँगको समन्वयमा परीक्षणलाई तिव्र बनाउन आवश्यक तयारी थालिएको छ सामुदाय स्तरमा संक्रमण फैलिएको आशंका बढेकाले दायरा बढाउँदै समुदायमै गएर परीक्षण गरिने उनले बताए ।

स्वास्थ्य निर्देशनालयलाई थप एक लाखको परीक्षण गर्ने गरी योजना बनाउन निर्देशन दिसकिएको उनले बताए । कार्कीका अनुसार एक लाखको परीक्षण गर्दा झण्डै १८ करोड खर्च हुने अनुमान गरिएको छ । बजेट व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा छलफल भैरहेको उनले बताए ।

सुदूरपश्चिममा बिहिबारसम्म ६४ हजार ६ सय २५ जनाको कोरोना परीक्षण भएको छ । सबैभन्दा बढि सेती प्रादेशिक अस्पतालको प्रयोगशालाबाट ३३ हजार ६ सय ९८ जनाको परीक्षण गरिएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट १६ हजार तीन सय १८, डडेल्धुरा प्रयोगशालाबाट १३ हजार ३१, डोटी अस्पताल प्रयोगशालाबाट १ हजार ३ सय ९८ र प्रदेश बाहिरका अन्य प्रयोगशालामा १ सय ८४ जनाको परीक्षण गरिएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

उनीहरु मध्ये झण्डै १० प्रतिशत, ६ हजार १ सय २७ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएका ५ हजारले कोरोना जितेको दावी गरिएको छ भने १४ जना संक्रमितको मृत्यु भएको छ ।

प्रकाशितः १९ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्