जम्बो संरचनातर्फ जनता समाजवादी पार्टी



काठमाडौं : संघीय संसदको तेस्रो ठूलो दल जनता समाजवादी पार्टीले जम्बो संरचना बनाउने भएको छ । समाजवादी र राष्ट्रिय जनता पार्टीबीच एकीकरण भएपछि बनेको जसपामा शीर्ष नेताको व्यवस्थापनमा समस्या देखिएको छ । नेताको व्यवस्थापनमा समस्या देखिएपछि केन्द्रीय संरचना जम्बो बन्ने निश्चितप्रायः छ ।

महन्थ ठाकुर र उपेन्द्र यादव दुई अध्यक्ष रहेको जसपामा डा. बाबुराम भट्टराईको नेतृत्वमा संघीय परिषद् पनि यथावत रहने भएको छ । मुख्यतः विगतमा नेतृत्व तहमा रहेका शीर्ष नेताको व्यवस्थापनको टुंगो नलाग्दा कार्यविभाजनसमेत हुन सकेको छैन । केही समयअघि सम्पन्न केन्द्रीय कार्यकारिणी समितिले कार्यविभाजन मिलाउन छ सदस्यीय सचिवालय गठन गरेको थियो । तर सचिवालयको पटक पटकको बैठकपश्चात् पनि टुंगो लगाउन सकेको छैन ।

यस्तो छ केन्द्रीय संरचना
स्रोतका अनुसार जसपाको केन्द्रीय संरचनामा दुई हजार ५८ पद सिर्जना गरिएको छ । कार्यकारी समिति, राजनीतिक समिति र केन्द्रीय समिति छुट्टाछुट्टै बनाउने योजना छ । केन्द्रीय समितिको अध्यक्षमा दुई जना यथावत रहे पनि वरिष्ठ नेताका लागि ८ पद राख्ने योजना छ । सहअध्यक्ष ४, उपाध्यक्ष १६, महासचिव र उपमहासचिव ६–६ जना हुनेछन् भने सचिव ८, कोषाध्यक्ष र सहकोषाध्यक्ष १–१ जना बनाउने सहमति भएको छ ।

कार्यकारी समिति ५३, राजनीतिक समिति १५१ र केन्द्रीय मिति ७०१ सदस्यीय बनाइने छ । यस्तै संघीय परिषद्मा एक हजार १०१ जना रहने बताइएको छ । कार्यसमितिका ५३ मध्ये दुई जनाको मनोनयन हुन बाँकी छ । सबै समितिका पदाधिकारी र सदस्यको जिम्मेवारी बाँडफाँटको टुंगो लगाउन जसपाका शीर्ष नेताहरु पटक पटक छलफलमा जुटेका छन्, तर अझसम्म सहमति भइसकेको छैन । छलफल भने निरन्तर जारी रहेको जसपाका एक नेताले बताए ।

कसको भागमा कति संख्या ?
जसपामा बन्ने सबै समितिमा दुवै पार्टीका तर्फबाट बराबर प्रतिनिधित्व हुने गरी संख्या तोकिनेछ । तत्कालीन समाजवादी पार्टीले पाएको संख्यामा उपेन्द्र यादव, बाबुराम भट्टराई, अशोक राई समूहबीच भाग लगाएर प्रतिनिधित्व गराइनेछ । यस्तै तत्कालीन राजपाले पाएको संख्यामा ठाकुरसहित तत्कालीन अध्यक्षमण्डलका सदस्यहरु राजेन्द्र महतो, महेन्द्र यादव, शरतसिंह भण्डारी, अनिलकुमार झा र राजकिशोर यादवबीच भाग लगाएर प्रतिनिधित्व गराइने छ । जसपा स्रोतका अनुसार ७०१ सदस्यीय केन्द्रीय समितिमा राजपाले पाएको ३५१ सदस्यमा ठाकुरले १००, महतोले ८०, भण्डारी र महेन्द्रले ५०;५० तथा झा र राजकिशोरले ३०-३० स्थान पाउने छन् राजपामा समाहित भएका दुई साना पार्टी मानध्वज बिलोङ र रामकुमार ओझालाई पनि ५-५ स्थान छुट्याइएको जसपा स्रोतले जनाएको छ ।

प्रदेश सरकार र संसदीय दल
जसपाभित्र प्रदेश सरकारसँगै प्रदेश सभा र संघीय संसदमा संसदीय दल नेता चयनको विषयमा समेत व्यापक छलफल भइरहेको छ । नेता व्यवस्थापनसँगै यी विषय पनि जसपाभित्र निकै चुनौतिपूर्ण बनेको छ । दुई पार्टी एकीकृत भएपछि प्रदेश २ को सरकारप्रति पनि दुई थरिको दृष्टिकोण सार्वजनिक भइरहेका छन् । एक थरिले पार्टी एकीकरणपछि प्रदेश सरकार परिवर्तनप्रति पार्टीले छलफल गरी निर्णय लिनुपर्ने बताउँदै आएका छन् । पार्टीको परिवर्तित परिस्थितिमा संसदीय दल दुई अलग अलग रहन नसक्ने हुँदा संसदीय दल एउटै बनाएर संसदीय दलको नेता र उपनेता चयन गर्नुपर्ने बाध्यता छ । प्रदेश सभामा संसदीय दलका नेता नै मुख्यमन्त्री बन्नेछन् । अहिले सपाका लालबाबु राउत संसदीय दलका नेता छन् भने राजपाका जितेन्द्र सोनल छन् । अब भने एकजना हुनुपर्ने छ । संसदीय दलको नेता चयनको चर्चासँगै एक थरिले नेतृत्व परिवर्तनको कुरा गरिरहेका छन् भने अर्को थरिले प्रदेश सरकार परिवर्तन बेमौसमको बाजा भनिरहेका छन् । एउटा कार्यकालका लागि निर्वाचित भएर आएका जनप्रतिनिधिले कम्तीमा पाँच वर्ष चलाउन पाउनुपर्ने भन्दै राउतकै नेतृत्वलाई आगामी निर्वाचनसम्म निरन्तरता दिनुपर्ने अडानमा कतिपय नेता छन् । सरकार परिवर्तन गरिए मनमुटाव बढनसक्ने र पार्टी एकीकरणको राम्रो सन्देश नजाने हुँदा प्रदेश सरकारको नेतृत्व यथावत राखेर संसदीय दलका पदाधिकारी बाँडफाँट हुनुपर्ने बताउँछन् ।

यस्तै संघीय संसदमा पनि संसदीय दलका नेता चयन हुन बाँकी छ । अहिले राजपाका ठाकुर सजपाका उपेन्द्र संसदीय दलका नेता छन् । अब एउटै नेता चयन गर्नुपर्ने बाध्यताकाबीच जसपाले बाँडफाँटको टुंगो लगाउनुपर्नेछ ।

के भन्छन् जसपाका युवा नेता?
डा. सुरेन्द्रकुमार झा–
तत्कालिन राजपाका अध्यक्ष मण्डलका नेताहरुबीच अनौपचारिक छलफल भएको छ । पार्टी समायोजन, केन्द्रीय कार्य समिति निर्माण गर्नुपर्ने छ ७०१ जनाको । त्यसमा राजपाबाट ३५० जना र समाजवादीबाट ३५० जना टुंग्याउनुपर्ने छ । राजपामा ६ जना अध्यक्ष हुनुहुन्थ्यो, ६ वटा पार्टीको हिसाबले । समाजवादीमा पनि तीन वटा पार्टी छ । त्यो तीन वटामा उहाँहरुले पनि बाड्नुहुन्छ । उहाँहरु करिब ४३२ जना हुनुहुन्छ । त्यसमा उहाँहरुले ३५० मा हामीले ८०० बाट ३५० मा झार्नुपर्ने छ । ३५० लाई पुनः ६ जनामा बाँडनुपर्ने हुन्छ । राजनीतिक समिति १५१ जनाको बनाउनुपर्ने छ । त्यसमा ५१ जना भइसक्नुभएको छ । अब सय जनामा ५० जना राजपाले पाउँछ र ५० जना समाजवादीले पाउँछ । त्यो ५० जना भित्र पनि ६ जना अध्यक्षहरुमा बाँड्नुपर्ने हुन्छ । यहि विषयमा पार्टीभित्र छलफल थियो ।

कार्यकारी समिति ५३ सदस्यीयमा बाँकी दुई जना राजपाले मात्र भनेर केही हुने अवस्था छैन । दुई जनामध्ये एक जना समाजवादीले दाबी गर्छ । त्यसमा साझा उम्मेदवारलाई लाने कुरा हुन्छ । त्यसमा दुवै पार्टीका अध्यक्षले मिलेर टुंगो लगाउने हो । संघ र प्रदेशमा संसदीय दलको नेता टुंगो लगाउने विषय चरणवद्ध रुपमा अगाडि बढ्नुपर्ने हो र बढिरहेकै छ । यसबारे अलिकति ढिलो हुन गएको मात्र हो ।

मनिष सुमन–राजपाका पूर्व अध्यक्षहरुको बैठक बस्ने कुरा थियो । त्यसमा ४ जना मात्र उपस्थित हुनुहुन्थ्यो । अनिल झा दिल्ली जानुभएको छ । शरदसिंह भण्डारी दुई महिनादेखि घरबाट निस्कनुभएको छैन । महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव र राजकिशोर यादव मात्र उपस्थित हुनुहुन्थ्यो ।
यस्तो छलफल कति हुन्छ कति । तर, निष्कर्ष निकाल्न सक्दैन । जसपाको पद विभाजन गर्नुपर्नेमा मुख्य तीन वटा कुरा हुनुपर्ने छ । अहिले जिम्मेवारीमा रहेका साथीहरुको पद निर्धारण गर्नुपर्ने छ–केन्द्रीय कार्यकारिणी समितिको । त्यसपछि केन्द्रीय समिति र राजनीतिक समिति । यी तीन वटा काम गर्नुपर्ने छ । यसमा ६ वटा पार्टीका तर्फका व्यक्तिको नाम संकलन गरेर एक मत बनाउनु पर्छ । तर, यसमा महासचिव र उपाध्यक्ष लगायत राजनीतिक समिति र केन्द्रीय समितिमा सीमितमात्र राख्न पाउँछन् । विधानअनुसार हामीले ५० प्रतिशतमात्र दिनुपर्छ । त्यही कुराहरुले गर्दा अहिलेसम्म मिलेको छैन । दुई महिनादेखि उहाँहरु बसिरहनुभएको छ । तर, निष्कर्ष निस्केको छैन ।

बिक्की यादव–अहिले औपचारिक बैठक नै बसेको छैन । यो पूर्वराजपा पक्षका साथीहरुको मात्र छलफल भएको हो । कार्यकारिणी सदस्यबारे केही टुंगो लागेको छैन । केन्द्रीय समितिको तयारी भइरहेको छ । दुई पार्टीबीच पार्टी एकीकरण भए पनि पूर्व राजपाका साथीहरु केन्द्रीय सदस्यमा के कति पर्छ एउटा सैद्धान्तिक आधार बनाउनुपर्छ । त्यसपछि लिस्ट बनाएर राजपाबाट ३५० र सामाजवादीबाट ३५० गरी ७०१ जनाको बनाउने जुन कुरा छ त्यसमा छलफल भइरहेको छ, टुंगो लागेको छैन । पहिला केन्द्रीय समिति बन्छ । त्यही केन्द्रीय समितिबाट राजनीतिक समिति बन्छ । पूर्वराजपाका खेमाहरु छन् त्यसमा अलि कुराहरु मिलेको छैन । त्यसलाई मिलाउने प्रयास भइरहेको छ । सचिवालय गठन र कार्य विभाजनको कुरा टुंगेपछि संघ र प्रदेश संसदीय दल नेताको विषयमा प्रक्रिया अगाडि बढ्छ ।

रामकिशोर सिंह– जनता समाजवादीमा ५३ जनाको कार्यकारिणी समिति छ । जसमा २६ जना राजपाबाट गइसक्नुभएको छ । समाजवादीबाट २५ जना छन् । एक जना समाजवादीको बाँकी छ । अर्को एक जना दुई पार्टीलाई सर्वस्वीकार्य हुने व्यक्ति नियुक्ति हुन्छ ।

केन्द्रीय समितिका लागि ३५० जनाको नाम दिनुपर्ने छ । त्यसको लागि पूर्व राजापका अध्यक्षहरुको छलफल थियो । राजनीतिक समिति १५१ जनाको हुन्छ र सचिवालय ५३ जनाको ३५ प्रतिशत १७ जना हुन्छ । यसबारे आगामी हप्ता कार्यविभाजन लगायत केन्द्रीय कार्यसमितिको विषयहरु अगाडि बढ्छ ।

पार्टीको कार्य विभाजन सर्वसहमतिबाट हुन्छ । सहअध्यक्षहरुबाटै सहअध्यक्ष र उपाध्यक्षहरुबाटै उपाध्यक्ष बनाउने कुरा छ । महासचिवहरुमध्येबाट महासचिव बनाउने कुरा छ । संघ र प्रदेशमा संसदीय दलको नेता चयन गर्न केन्द्रीय समितिको बैठक बस्छ । केन्द्रीय समितिले निर्णयअनुसार संसदीय दलले नै संसदीय दलको नेता गर्छ । यो संवैधानिक व्यवस्था अनुसार नै अगाडि बढ्नुपर्छ । संघ र प्रदेशमा संसदीय दलको चुनाव अविलम्बन गर्नुपर्छ । यो धेरै रोकेर राख्ने विषय होइन । प्रदेश सरकार संवैधानिक व्यवस्थाअनुसार नै परिर्वतन हुन्छ । संसदीय दलको नेता जो बन्नुहुन्छ उहाँनै मुख्यमन्त्री बन्नुहुन्छ । उहाँकै नेतृत्वमा मन्त्रिपरिषदको गठन हुन्छ । त्यो नै गर्नुपर्छ । यदि यहि सरकारका मुख्यमन्त्री लालबाबु राउतलाई निरन्तता दिने हो भने प्रक्रियामा जानुपर्छ । यो सरकार परिवर्तन हुन्छ । सरकार परिवर्तन नहुने होइन परिवर्तन हुन्छ प्रदेश २ मा ।

अहिलेको परिवेशमा संघीय सरकार देशव्यापी रुपमा असफल भएको सरकार हो । कोरोना नियन्त्रणका लागि कुनै योजना छैन सिधै लकडाउन लगाएर सर्वसाधारण जनतालाई घरमा थुनेर संक्रमण कम हुँदैन । संक्रमण रोकथाम र नियन्त्रणको लागि सरकारको कुनै योजना नै छैन । त्यसैले अहिलेको हिसाबले सरकार पूर्णरुपमा असफल भएको छ ।

सम्बन्धित समाचार :-

तत्काल टर्यो प्रदेश २ सरकार नेतृत्व परिवर्तनको संकट

प्रकाशित : भदौ २२, २०७७

प्रतिक्रिया दिनुहोस्