अफगानिस्तानका उपराष्ट्रपतिमाथि बम हमला, १० जना मारिए



काठमाडौंः अफगानिस्तानका उपराष्ट्रपति अमरुल्लाह सालेहलाई लक्षित गरी बम हमला भएको छ ।

आज बिहान (बुधबार) काबुलमा भएको घटनामा उनी सुरक्षित रहेको उनका प्रवक्ताले जानकारी दिएका छन् । विस्फोटमा परेर हालसम्म १० जना सर्वसाधरणको मृत्यु भएको छ भने १५ जना घाइते रहेको त्यहाका गृहमन्त्रालयले जनाएको छ ।

सहरी क्षेत्रमा कुनै कारबाही नगर्ने अमेरिकासँग सहमति गरेको तालिवानले घटनामा आफू जिम्मेवार नभएको बताएको छ । विस्फोटपछि फेसबुकमा भिडियो पोष्ट गर्दै देब्रे हातमा पट्टी बाँधेका सालेहले कार्यालय जाने क्रममा आफ्नो कारकेडमाथि आक्रमण भएको जानकारी दिएका थिए ।

उनले भनेका छन्,‘म ठीकै छु तर मेरा सुरक्षाकर्मी घाइते भएका छन् । मसँग मेरो छोरा पनि कारमा थियो, उनी पनि सुरक्षित छन् । मेरो हात र अनुहार केही जलेको छ । निकै शक्तिशाली विस्फोट थियो ।’ तालिवानका प्रखर आलोचक रहेका पूर्वगुप्तचर प्रमुख सालेहमाथि धेरै पटक प्राणघातक आक्रमण भएका छन् ।

गत वर्ष राष्ट्रपतीय निर्वाचन अघि उनको कार्यालयमा भएको विस्फोटमा २० जना मारिएका थिए । उनी भने प्रत्येक पटक बच्दै आएको अलजजिराले जनाएको छ ।

प्रकाशितः २४ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्