कंगना मुम्बईमा ओर्लिदा एयरपोर्टमा हंगामा, कार्यकर्ता आमनेसामने



नयाँदिल्ली: बलिउड अभिनेत्री कंगना रनौत मुम्बई पुग्दा विमानस्थलमा हंगामा भएको छ ।

शिवसेना र करणी सेनाका कार्यकर्ताले प्लेकार्डसहित नाराबाजी गरेका छन् । प्रहरीले भीड तितरवितर पारेको छ । कंगना हिमाञ्चलबाट चण्डीगढ हुँदै बुधवार दिउँसो मुम्बई विमानस्थलमा ओर्लिएकी हुन् ।

उनी आउने भएपछि शिवसेनाका कार्यकर्ता विरोध प्रदर्शन गर्न विमानस्थल पुगे भने करणी सेना उनको समर्थन तथा सुरक्षामा पुगे । दुबै संगठनका कार्यकर्ता मास्क विना कोभिड प्रोटोकल तोड्दै विमानस्थल पुगेको भारततिय संचार माध्यमले जनाएका छन् ।

उनीहरुले आमने सामने भएर नाराबाजी गरेका थिए । त्यसो त कंगनालाई शिवसेनाका नेता कार्यकर्ताले आरोपप्रत्यारोपका क्रममा मुम्बई नआउन धम्की दिएपछि नरेन्द्र मोदी नेतृत्वको केन्द्र सरकारले कमाण्डोसहित ११ जना जवान रहने गरी वाई श्रेणीको सुरक्षा दिएको छ ।

विमानस्थलमा सुरक्षा कमाण्डोले उनलाई रिसिभ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सञ्चार माध्यमका अनुसार शिवसेना र करणी सेनासहित ४ वटा संगठन पक्ष र विपक्षमा एयरपोर्ट पुगेका थिए । शिवसेनाको नेतृत्वको महाराष्ट्र सरकारलाई कंगनाले सुशान्तसिंह राजपुत प्रकरणमा चुनौती दिएपछि शिवसेनाका नेता कार्यकर्ता उनीविरुद्ध उत्रिएका हुन् ।

उनीहरुले कंगनालाई मुम्बई नआउन धम्की दिएका थिए । कंगना उच्च सुरक्षाका बीच आफ्नो निवास पुगेकी छिन् ।

प्रकाशितः २४ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्