मौलापुर नगरपालिकाले गर्यो कोरोना नियन्त्रणका लागि १ करोड ८ लाख खर्च



गौर : रौतहटको मौलापुर नगरपालिकाले कोरोना संक्रमण तथा नियन्त्रणका लागि गरेको खर्च विवरण सार्वजनिक गरेको छ ।

नगरपालिकाले एक सूचनामार्फÞत आर्थिक वर्ष २०७६/७७ मा भएका सम्पूर्ण खर्चको विवरण सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको सूचना अनुसार क्वारेन्टाइन निर्माण, व्यवस्थापन एवं सञ्चालन, राहत वितरण, औषधि तथा सुरक्षा सामग्री खरिद र एम्बुलेन्स, बस भाडा लगायतका शीर्षकमा गरी जम्मा १ करोड ८ लाख ३१ हजार ७ सय ९८ रुपैयाँ खर्च भएको हो । कुल खर्चमा प्रदेश २ सरकारबाट प्राप्त १५ लाख अनुदान रकम समेत रहेको छ ।

मौलापुरका विपन्न, ज्यालादारीमा आश्रीतसहित सम्पूर्ण नगरवासीलाई दुई चरणमा राहत वितरण गरिएको थियो । पहिलो चरणमा १ हजार ३ सय २६ घरपरिवारलाई राहत वितरण गर्दा १४ लाख ४० हजार खर्च भएको थियो भने दोस्रो चरणमा ४१ सय घर परिवारलाई राहत वितरण हुँदा ४५ लाख १२ हजार ४ सय खर्च भएको बताइएको छ ।

क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापनमा २५ लाख ३९ हजार ५ सय २४ रुपैया खर्च भएको हो भने कोरोना संक्रमण नियन्त्रणका लागि आवश्यक औषधि र सुरक्षा सामाग्री किन्न २० लाख १७ हजार ६ सय १९ रुपैयाँ खर्च नगरपालिकाले जनाएको छ । त्यस्तै एम्बुलेन्स भाडा, बस भाडा, जन चेतना अभिवृद्धि एवं प्रचारप्रसारलगायत अन्य विभिन्न कार्यका लागि ३ लाख २२ हजार २ सय ५५ रुपैयाँ खर्च भएको हो ।

मौलापुर नगरपालिकाले सार्वजनिक गरेको खर्च अन्य स्थानीय तहको तुलनामा निकै कम देखिएको छ । रौतहटकै विभिन्न स्थानीय तहले २ करोडभन्दा बढी खर्च देखाएको बेला मौलापुरको खर्च भने मितव्ययी र नियन्त्रित देखिन्छ ।

नगरपालिकाले आफ्नो भुमिका निर्वाह गरी संक्रमणलाई शुन्यमा झारेको र नगर क्षेत्रलाई त्यसको प्रभावबाट टाढै राखेको नगरप्रमुख रिनाकुमारी साहले बताइन् । उनले नगरवासीलाई राहत दिएर भोकबाट जोगाएको र सबैको साथमा सधै नगरपालिका रहेको अनुभुति हुने हिसाबले मितव्ययी भई खर्च गरिएको बताइन् ।

विश्वस्तरमै फैलिएको कोभीड–१९ भाइरसबाट नेपाल पनि जुधिरहेको छ । संघीय सरकारले भाइरसको महामारी नियन्त्रण गर्न स्थानीय सरकारलाई अग्रपंक्तिमा राखेको थियो ।

प्रकाशित : भदौ २८, २०७७

प्रतिक्रिया दिनुहोस्