सञ्चारगृहमा आक्रमण गर्नेलाई कारबाही हुन्छ : मुख्यमन्त्री भट्ट



कैलालीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले दिनेश सञ्चारगृहमा आक्रमण र पत्रकारमाथि कुटपिट गर्नेहरुलाई कारबाही हुने बताएका छन् ।

सोमबार नेपाल पत्रकार महासंघ कैलाली शाखाको ध्यानाकर्षण पत्र बुझ्दै दिनेश सञ्चारगृह र त्यहाँका पत्रकारमाथि भएको आक्रमणको घटनामा संलग्नलाई कारबाही हुने उनले बताए ।

सञ्चारगृहमाथि आक्रमण भएको जानकारी पाउने बित्तिकै प्रहरी, प्रशासनसँग कुराकानी गरेको बताउँदै उनले घटनामा संलग्नलाई कारबाही गर्न निर्देशन दिएको जानकारी दिए ।

समाचारप्रति असन्तुष्टि भए कानुनी उपचारको बाटो खुला भएपनि सञ्चारगृहमै आक्रमण गर्नु दुः खद भएको मुख्यमन्त्री भट्टले बताए । नेपाल पत्रकार महासंघ कैलाली शाखाका अध्यक्ष जगद साउँदले आक्रमण भएको चार दिन हुँदासम्म पनि संलग्न पक्राउ नपरेको भन्दै दोषीमाथि कारबाही हुनुपर्ने माग गरे ।

दिनेश सञ्चारगृह र त्यहाँका पत्रकारमाथि आक्रमण गर्नेलाई कारबाहीको माग गर्दै महासंघले आन्दोलन जारी राखेको छ । पीडित पक्षले कुटपिट गर्नेलाई कारबाहीको माग गर्दै किटानी जाहेरी दिए पनि प्रहरीले संलग्नलाई पक्राउ नगरेको भन्दै सोमबार जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना पनि दिइएको थियो ।

गएको शुक्रबार धनगढीस्थित दिनेश सञ्चारगृहको कार्यालयमा पुगेका १५-२० जनाको समूहले गृहका सहसम्पादक जनक विष्टलाई कुटपिट गरेको थियो । व्यवस्थापक अमिता कुँवर र प्राविधिक कल्पना सिंहमाथि पनि हातपात भएको थियो ।

प्रकाशितः २९ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्