अर्मेनिया र अजरबैजानबीच सीमा क्षेत्रमा युद्ध हुँदा २३ जनाको मृत्यु



एजेन्सी : विश्वमै सीमा क्षेत्रलाई लिएर भएको पुरोना मध्ये एक युद्ध पुनः बिउँतिएको छ । यो युद्ध हो अर्मेनिया र अजरबैजानबीच सीमा विवाद । दुई देशबीच सीमा क्षेत्रलाई लिएर पुनः विवाद शुरु भएको छ ।

आइतबार वर्षैँपछि अर्मेनिया र जरबैजानबीच सीमा क्षेत्रमा भएको युद्धमा कम्तीमा २३ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

पूर्व सोभियत युनियनका दुई देशबीच नागोर्नो–काराबाख क्षेत्रलाई लिएर भिडन्त भएको हो । सो क्षेत्र अन्तर्राष्ट्रिय रुपमा अजरबैजानको भनि मान्यता प्राप्त छ । तर, त्यहाँ आदिवासी अर्मेनियनको कब्जा छ ।

सो क्षेत्रमा सन् १९९० को दशकको शुरुमा भएको सीमा युद्धमा दशौँ हजार मानिसको ज्यान गएको थियो ।

अजरबैजानका राष्ट्रपति इल्हाम एलिइभले आइतबार नागोर्नो–काराबाख क्षेत्रमा आफूहरुको नियन्त्रण कायम हुनेमा विश्वस्त रहेको बताएका छन् ।

सम्भावित हिंसालाई नियन्त्रित गर्न भनि अजरबैजानका केही क्षेत्रमा सैन्य कानून लागू गरिएको बीबीसीले उल्लेख गरेको छ । यस्तै अर्मेनिया र नागोर्नो–काराबाख क्षेत्रमा पनि सैन्य कानुन लागू भएको छ ।

कोकसेस माउन्टेन क्षेत्रका विगत तीन दशकदेखि बेलाबेलामा युद्ध हुने गरेको थियो । तर अहिलेको युद्धले सघन रुप लिएको हो । गएको जुलाईमा सीमा क्षेत्रमा भएको युद्धमा कम्तीमा १६ जनाको ज्यान गएको थियो ।

त्यसपछि अजरबैजानको राजधानी बाकुमा वर्षौँ यताकै ठूलो प्रदर्शन भएको थियो । प्रदर्शनकारीले नागोर्नो–काराबाख क्षेत्र आफ्नो नियन्त्रणमा लिन माग गरेका थिए ।

क्यास्पियन सागरबाट तेल विश्व बजारमा ल्याउने महत्वपूर्ण करिडोर रहेको सीमा क्षेत्रमा भिडन्त भएको बीबीसीले बताएको छ । टर्कीका राष्ट्रपति रिसेप तैयम एर्डोगानले अजरबैजानलाई आफ्नो समर्थन रहेको बताएका छन् ।

प्रकाशित : असोज १२, २०७७

प्रतिक्रिया दिनुहोस्