मोरङमा ६० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु



विराटनगर : मोरङमा कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत मोरङको जहदा गाउँपालिका–६ का ६० वर्षीय वृद्धको बुधबार बिहान ४ बजे मृत्यु भएको हो ।

उपचार केन्द्रका प्रमुख एवं वरिष्ठ फिजिसियन डा. दीपक सिग्देलका अनुसार कोशी कोभिड अस्पतालमा हालसम्म ज्यान गुमाएका संक्रमितमध्ये पछिल्लो पटक मृत्यु भएका पुरुषको तौल सबैभन्दा धेरै ११० किलो रहेको थियो । उनले अत्याधिक मोटोपनाका कारण मृतकमा श्वासप्रश्वास सम्बन्धी बढी समस्या रहेको जानकारी दिए ।

कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा रहेका पुरुषलाई उपचारका लागि असोज ४ गते कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

उनका अनुसार मृतकमा उच्च रक्तचाप, मधुमेह, मोटोपनाको पुरानो समस्या थियो । पछिल्लो समय श्वास फेर्न गाह्रो हुने समस्या पनि थपिएको डा. सिग्देलले बताए। स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि संक्रमित पुरुषमा रेमडिसिभर औषधि पनि चलाइएको जानकारी उनले दिए ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ६८ पुगेको छ भने
हालसम्म प्रदेश १ का विभिन्न कोभिड अस्पतालमा उपचाररत ६८ जना संक्रमितको मृत्यु भइसकेको छ । ज्यान गुमाउनेमा १९ महिला र ४९ पुरुष छन् ।

प्रकाशित : असोज १४, २०७७

प्रतिक्रिया दिनुहोस्