२३ दिनमै थपिए ४० प्रतिशत संक्रमित



काठमाडौँ : सरकारले घरमै आइसोलेसन बसेकाको निगरानी र कन्ट्याक्ट ट्रेसिङ प्रभावकारी बनाउन नसक्दा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार सात महिनायताकै बढी २ हजार ७ सय २२ जनामा संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा १४ हजार ७ सय ३९ जनाको पीसीआर परीक्षण भएको थियो । संक्रमितमध्ये काठमाडौं, भक्तपुर र ललितपुरमा १ हजार ६ सय ३८ जना अर्थात् ६०.१७ प्रतिशत छन् । शुक्रबार मुलुकभर पोजिटिभ देखिएको दर पनि अहिलेसम्मकै बढी १८.४८ प्रतिशत पुगेको छ । यसअघि असोज २ मा १७.६३ प्रतिशतमा संक्रमण देखिएको थियो । उक्त दिन ११ हजार ४ सय ५८ जनाको पीसीआर गर्दा २ हजार २० जनामा संक्रमण पुष्टि भएको थियो ।

सक्रिय संक्रमितको संख्या भने बिहीबारको भन्दा कम छ । बिहीबार २१ हजार ८ सय ३० जना सक्रिय संक्रमित रहेकामा शुक्रबार २१ हजार २ सय ३४ जना छन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक डा. वासुदेव पाण्डेले पछिल्लो तथ्यांकले संक्रमण समुदायमा फैलिरहेको देखाएको बताए । अध्ययन नभएसम्म कुन लेभलमा फैलिएको भन्न नसकिने उनको भनाइ छ । ‘तीन–चार महिनाअघि नै संक्रमण समुदायमा गइसकेको हो, कति मात्रामा हो भन्ने मात्रै हेर्न बाँकी छ,’ संक्रमण रोग विशेषज्ञ डा. अनुप सुवेदीले भने, ‘यसरी संक्रमण बढ्नुको कारण कमजोर व्यवस्थापन हो । कन्ट्याक्ट ट्रेसिङबाट हामीले जबसम्म मूलस्रोत पत्ता लगाउन सक्दैनौं, तबसम्म महामारी नियन्त्रण गर्न सक्दैनौं । सरकार चुकेको यहीं हो ।’

काठमाडौं महानगरपालिकाको तथ्यांकअनुसार महानगरमा बिहीबारसम्म ९ हजार ३ सय ६९ जनामा संक्रमण पुष्टि भएको छ । तीमध्ये वडा १५ को स्वयम्भू क्षेत्रमा सबैभन्दा बढी ८ सय ५८ जना पोजिटिभ देखिएकामा ८ सय ४४ जनाको मात्रै कन्ट्याक्ट ट्रेसिङ भएको छ । वडा ११ मा ५ सय ४९ जनामा पोजिटिभ देखिँदा ४ सय ७४ जनाको कन्ट्याक्ट ट्रेसिङ भएको छ । वडा ३ मा ५ सय २२ जनामा पोजिटिभ देखिँदा २ सय ४२ जनाको मात्रै ट्रेसिङ भएको महानगरले जनाएको छ । संक्रमण रोग विशेषज्ञ डा. सुवेदीले पीसीआर व्यापक बनाउने, कन्ट्याक्ट ट्रेसिङ र क्वारेन्टाइनलाई प्रभावकारी बनाउने हो भने मात्रै महामारी नियन्त्रण गर्न सकिने बताए ।

‘टेस्ट कम भयो, पीसीआर बढाउन सकिने क्षमता छ, डाइरेक्ट विधिबाट पीसीआर गर्दा रिपोर्ट चाँडो दिन सकिन्छ,’ उनले भने, ‘कन्ट्याक्ट ट्रेसिङ १ जनाबाट २० जनामा पुर्‍याउन सकिन्छ । कन्ट्याक्ट ट्रेसिङ नै छाडेपछि टेस्ट मात्रै गरेर केही हुँदैन । पीसीआर मात्रै गर्दा मौसमको रिपोर्ट निकालेको आधारमा ग्लोबल वार्मिङ कम गर्छु भनेजस्तो हुन्छ ।’ घर र कोठामा बस्न नसक्नेलाई समुदायमै भरपर्दो आइसोलेसन बनाउनुपर्ने उनले बताए । ‘घरमै आइसोलेसनमा बसेकाको पनि निगरानी हुन सकेको छैन,’ उनले भने ।

ईडीसीडीका पूर्वनिर्देशक डा. बाबुराम मरासिनीले पनि कन्ट्याक्ट ट्रेसिङ भरपर्दो नभएकै कारण संक्रमण बढेको बताए । संक्रमण बढ्नुको अर्को कारण लकडाउन र निषेधाज्ञा खुलेपछि सरकारी कार्यालयको सेवा कसरी दिने ? भीडभाड कम गर्न के गर्ने भन्ने योजना नबन्नु रहेको उनले बताए । काठमाडौं उपत्यका र घनाबस्तीमा संक्रमण बढ्नुमा सरकारी कार्यालयमा सेवा प्रवाह गर्दा भीडभाड हुनु, हावा गुम्सिने कोठामा काम हुँदा संक्रमण दर बढेको मरासिनीले बताए ।

काठमाडौं उपत्यकामा निषेधाज्ञा खुलेको भदौ २५ देखि शुक्रबारसम्म अर्थात् २३ दिनमा मात्रै ३३ हजार २ सय ४९ जनामा कोरोना पोजिटिभ देखिएको छ । यो संख्या कुल पोजिटिभ देखिएको ८२ हजार ४ सय ५० को ४० प्रतिशत हुन्छ । पछिल्लो १६ दिनमा २४ हजार १ सय ४१ जनामा संक्रमण देखिएको छ । तीमध्ये काठमाडौं उपत्यकाका मात्रै १३ हजार ८० जना छन् । ‘भीडभाडको व्यवस्थापन नभएसम्म कोरोना नियन्त्रणमा लिन सकिँदैन,’ डा. मरासिनीले भने, ‘चैत ११ कै अवस्थामा काम गरेकाले यो अवस्था आएको हो ।’

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्रमणको दर घनाबस्ती भएको काठमाडौं, ललितपुर, भक्तपुर, मोरङ, बाँके र सुर्खेतमा उच्च छ । काठमाडौंमा शुक्रबार १ हजार २ सय ८० जनामा संक्रमण पुष्टि भएको थियो । ललितपुरमा १ सय ६२, भक्तपुरमा १ सय ९२, सुर्खेतमा १ सय २२ र मोरङमा १ सय ५० जनामा संक्रमण पुष्टि भएको छ । शुक्रबार संक्रमित देखिएको संख्याको ६०.१७ प्रतिशत काठमाडौं उपत्यकामा छन् । जनस्वास्थ्य विज्ञ डा. जनक कोइरालाले जनस्वास्थ्यको मापदण्ड पालना नगराएसम्म संक्रमित रोक्न नसकिने बताए । ‘साह्रै गाह्रो अवस्था बनेको छ,’ उनले भने, ‘कोरोना नभएजस्तै चहलपहल छ । लकडाउनलाई व्यवस्थित रूपमा नखोलेको परिणाम अहिले देखिएको हो ।’

कोरोना नियन्त्रण गर्न स्वास्थ्य मन्त्रालयले लकडाउनलाई विकल्पका रूपमा लिनेभन्दा पनि मापदण्ड पालना गराउने, संक्रमित बढी देखिएको ठाउँमा एन्टीबडी टेस्ट र पीसीआर बढाउनुपर्ने उनको सुझाव छ । ‘स्वास्थ्य मापदण्ड पालना नगराएसम्म संक्रमितको संख्या रोकिँदैन,’ उनले भने, ‘धेरैभन्दा धेरै परीक्षण गरेर संक्रमितको पहिचान र कन्ट्याक्ट ट्रेसिङलाई प्रभावकारी बनाउनुपर्छ ।

ईडीसीडीका पूर्वनिर्देशक डा. मरासिनीले पीसीआर रिपोर्ट ढिला हुँदा पनि संक्रमण बढेको बताए । ‘छिटो रिपोर्ट आउने हो भने पोजिटिभ पत्ता लागेका व्यक्ति आइसोलेसनमा बस्ने थिए । अरू मान्छेसँग घुलमिल हुने सम्भावना हुने थिएन,’ उनले भने, ‘रिपोर्ट आउन २४ घण्टाभन्दा ढिलाइ हुन कल्चर गरेको हो र ? पोजिटिभ वा नेगेटिभ छुट्याउन पनि काठमाडौं उपत्यकामा चार दिन लाग्छ, योभन्दा विडम्बना के होला ?’ पीसीआर संख्या बढाउन र नतिजा छिटो गर्न पर्याप्त जनशक्ति र ल्याब रहेको उनले बताए । व्यवस्थापन चुस्त नभएसम्म संक्रमण नियन्त्रण गर्न मुस्किल पर्ने उनले बताए ।

सेवाग्राहीको भीडभाड हुने यातायात, मालपोत, कर कार्यालय लगायत अन्य कार्यालयमा सामाजिक दूरी कायम गर्न नसक्दा पनि संक्रमित बढेको मरासिनीले बताए । ‘एउटै टेबल र झ्यालबाट मात्रै धेरै सेवाग्राही लाइन लाग्नुपर्ने, जुन ढोकाबाट आयो त्यही ढोकाबाट फर्कनुपर्ने, सेवा लिनुपर्ने कोठामा पर्याप्त हावा छिर्ने झ्याल नहुनु, सेवा लिन धेरै तला चाहर्नुपर्ने बाध्यताकै कारण एकपछि अर्कोमा संक्रमण सरेको हो,’ मरासिनीले भने, ‘लकडाउन र निषेधाज्ञा खोलेपछि कसरी सेवा प्रवाह गर्ने भन्ने भएन । बल र सान देखाएर सेवा लिनुपर्ने बाध्यता छ भने संक्रमण नबढेर के बढोस् ?’

ईडीसीडीका अनुसार बैंकका कर्मचारीमा पनि बढी संक्रमण देखिएको छ । बैंकमा सेवाग्राहीबाट निस्केको सास बाहिर निस्कने ठाउँ नभएर गुम्सिँदा संक्रमण कर्मचारी र भित्र छिर्नेलाई सरेको उनको दाबी छ । स्वास्थ्य मन्त्रालयले भने मापदण्ड पालना नगर्दा र सरकारको समर्थन तथा विरोधमा आन्दोलन र प्रदर्शन गर्दा संक्रमण बढेको ठहर गरेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले संक्रमण नियन्त्रण गर्न जनस्वास्थ्यको मापदण्ड पालना गर्नेबाहेक अरू कुनै उपाय नभएको बताए । ‘जरुरी काम नभई घरबाट ननिस्कौं । सानो समस्याका लागि घरबाहिर निस्कँदा ठूलो रोग लिएर फर्कने सम्भावना हुन्छ,’ उनले भने, ‘अनिवार्य मास्क प्रयोग गरौं । जहाँ पनि एक व्यक्तिबाट अर्को व्यक्तिको दूरी मिटर कायम गर्दा, साबुन पानीले हात धुँँदा, सेनिटाइजर लगाउँँदा र जनस्वास्थ्यको मापदण्ड पालना गर्दा कोरोना लाग्दैन ।’ कान्तिपुर दैनिकमा मकर श्रेष्ठले लेखेका छन् ।

प्रकाशित : असोज १७, २०७७

प्रतिक्रिया दिनुहोस्