३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गर्नेलाई ९ महिना कैद



गाईघाट : उदयपुरको त्रियुगा नगरपालिकाकाको दमौटीमा तीन वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गर्ने स्थानीय १५ वर्षीय बालकलाई जिल्ला अदालत उदयपुरले ९ महिनाको जेलसजाय सुनाएको छ।

मंगलबार जिल्ला न्यायाधीश तेजेन्द्रप्रसाद शर्माको इजालासले बालिका यौन दुर्व्यवहार गर्ने १५ वर्षीय बालकलाई ९ महिनाको जेल सजाय फैसला गरेको जिल्ला अदालत उदयपुरका श्रेस्तेदार राजकुमार आचार्यले बताए।

विसं २०७५ भदौ ३० गते बालकले एक तीन वर्षीय बालिकामाथि यौन दुर्व्यवहार गरेपछि पीडितको अभिभावकको उजुरीमा प्रहरीले पक्राउ गरेको थियो। त्यसपछि बालकविरुद्ध जिल्ला अदालतमा यौन दुर्व्यवहारविरुद्ध मुद्दा चले पनि ५० हजार धरौटीमा बाल तारेखमा रिहा भएका थिए। तर मंगलबार जिल्ला अदालतले बालकलाई ९ महिना जेल सजायको फैसला गरेको जिल्ला अदालत उदयपुरले बताएको छ।

मुलुकी अपराधसंहिता ऐन, २०७४ को दफा २२५ (१) का अनुसार यौन दुर्व्यवहार गर्नेविरुद्ध डेढवर्ष जेल सजाय हुने प्रावधान रहेको र उक्त १५ वर्षीय अभियुक्त बालक भएका कारण आधा सजाय हुनेगरी नौ महिना जेल सजाय तोकेको पनि जिल्ला अदालत उदयपुरले बताएको छ।बालकलाई सजाय भुक्तानी गराउन ९ महिना सुधार गृहमा पठाइने पनि जिल्ला अदालत उदयपुरले बताएको छ।

प्रतिक्रिया दिनुहोस्