अमेरिकी राष्ट्रपति ट्रम्प अस्पतालबाट ह्वाइट हाउस फर्किए



वासिङ्टन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पतालबाट ह्वाइट हाउस फर्किएका छन् ।

कोरोना संक्रमण पुष्टि भएपछि मेरिल्यान्डस्थित वाल्टर रीड मिलिट्री हस्पिटल भर्ना भएका ट्रम्प तीन रात अस्पताल बसाइपछि सोमबार साँझ ह्वाइट हाउस फर्किएका हुन् ।

चिकित्सकहरुले ट्रम्प पूर्ण रुपमा निको नभए पनि घर फर्किनका लागि भने सुरक्षित रहेको बताएका थिए । राष्ट्रपति ट्रम्प अब राष्ट्रपति निवास ह्वाइट हाउसमै चिकित्सकीय निगरानीमा रहनेछन् भने चाँडै नै चुनावी प्रचारमा सहभागी हुने बताइएको छ ।

अस्पतालबाट निस्कनुअघि राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै भनेका छन्, ‘छिट्टै नै चुनावी प्रचार शुरु गर्नेछु । ‘फेक’ न्युजले केवल ‘फेक’ सर्वेक्षण देखाइरहेका छन् ।’ त्यसअघि पनि डोनाल्ड ट्रम्पले ट्वीट गर्दै सोमबार साँझ अस्पतालबाट डिस्चार्ज हुने बताएका थिए ।

चिकित्सकहरुले पत्रकार सम्मेलन गरी उनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी दिनुपूर्व नै ट्रम्पले ट्वीट गर्दै ‘२० वर्ष पहिलेभन्दा अहिले स्वस्थ महसुस’ गरेको बताएका थिए । साथै कोरोनाबाट डराउनुनपर्ने बताउँदै यसलाई आफ्नो जीवनमा हाबी हुन नदिन पनि अपिल गरेका थिए ।

प्रकाशित : असोज २०, २०७७

प्रतिक्रिया दिनुहोस्