मदन भण्डारी प्रतिष्ठानका लेखा प्रमुखको मृत्यु, शंकास्पद



विराटनगर : मोरङको उर्लाबारी नगरपालिका-३ मंगलबारेमा केन्द्रीय कार्यालय रहेको मदन भण्डारी स्मृति प्रतिष्ठानका लेखा एवं प्रशासन प्रमुख मुक्तीनाथ दाहालको मृत्यु शंकास्पद हुँदै गएको छ ।

परिवार र आफन्तले मृत्यु अस्वभाविक रहेको भन्दै तत्काल छानबिन गरी दोषीमाथि कारबाही गरिनुपर्ने माग राखेर आज (मंगलबार) दिनभर शव उठाएका छैनन् । झापाको दमकस्थित तारबारीमा रहेको प्रतिष्ठानको बहुप्राविधिक शिक्षालयमा उनी कार्यरत रहेका थिए ।

उर्लाबारी-५ घर भएका उनी शिक्षालयमै झुण्डिएको अवस्थामा सोमबार मृत फेला परेका थिए । घटनापछि आक्रोसित आफन्त र स्थानीय बासिन्दाले प्रतिष्ठानका अध्यक्ष एवं नेकपा नेता गुरु बरालमाथि आज दुरव्यवहार गरेका छन् ।

घटना रहस्यमय रहेको भन्दै आफन्तले छानबिनको माग गरिरहेका बेला सम्झाउन र श्रद्धाञ्जली दिन भनेर पुगेका नेकपा केन्द्रीय सदस्य बरालमाथि आक्रोसित समूहले दुरव्यवहार गरेको प्रहरीले जनाएको छ । प्रतिष्ठानले घटनाका दोषीलाई बचाउन खोजेको आरोप लगाउँदै आक्रोसित भीडले अध्यक्ष बरालमाथि दुरव्यवहार र हातपात गरेको हो ।

बरालको स्वास्थ्य अवस्था भने सामान्य रहेको प्रतिष्ठानले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट भने दाहालले आत्महत्या गरेको खुलेको छ । मृत्युको बाटो रोज्न बाध्य पारेको भन्दै उनका आफन्त र स्थानीय बासिन्दाले प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत विनोद अर्याललाई पक्राउ गरेर कारबाही अघि बढाउनुपर्ने माग राख्दै मृत्यु भएको २४ घण्टासम्म शव उठाएका छैनन् ।

अर्यालले दिएको मानसिक तनावका कारण दाहालले आत्महत्याको बाटो राजेको दाबी आफन्तको छ । एक आफन्तका अनुसार खाली चेकमा हस्ताक्षर गर्न लगाएर अर्याल आफैले बोकेपछि केही दिनदेखि दाहाल तनावमा थिए ।

प्रतिष्ठान र दाहाल परिवारबीच ९ बुँदे सहमति भएपछि भने मंगलबार साँझ परिवारले शव बुझेर अन्त्येष्टि गरेको मृतकका छिमेकी पोषकुमार वास्तोलाले जानकारी दिएका छन् । उनका अनुसार मृतकका छोराहरुको शिक्षादीक्षाको जिम्मा प्रतिष्ठानले लिने, प्रतिष्ठानमै जागिरे रहेकी श्रीमती शान्तालाई बढुवा गर्ने, घटनामा दोषी देखिएकालाई कानुन अनुसार कारबाहीका लागि पहल गर्ने, अर्याललाई तत्काल निलम्बन गरेर जिम्मेवारीबाट हटाउने, घटनाको निष्पक्ष छानबिन गर्न मद्दत गर्नेलगायतका सहमति भएका छन् ।

कारबाही हुनुपर्ने माग राख्दै दाहसंस्कारका लागि शव लैजान मानेनन् । उनीहरुले प्रतिष्ठानबाट बरालले राजीनामा दिनु पर्ने, मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिइनु पर्ने लगायतका माग राखेर नाराजुलुस र प्रदर्शन जारी राखेका छन् । प्रहरीले घटना आत्महत्या दुरुत्साहन हुन सक्ने भन्दै त्यसतर्फ पनि अनुसन्धान थालिएको जनाएको छ ।

आत्महत्या गर्न बाध्य बनाएको भनेर दुरुत्साहनको आरोप लागेका प्रमुख कार्यकारी अधिकृत अर्याललाई भने मोरङ प्रहरीले दिउँसो विराटनगरबाट नियन्त्रणमा लिएको थियो । तर उनीविरुद्ध किटानी जाहेरी नपरेका कारण कानुनी हिसाबले हिरासतमा राख्न नमिल्ने भएपछि तत्कालका लागि आफन्तको जिम्मा लगाएर छाडिएको प्रहरीको भनाइ छ । स्थापना भएदेखि २०५२ सालबाटै प्रतिष्ठानमा दाहाल कार्यरत रहेका थिए ।

प्रकाशित :२१ असोज, २०७७

प्रतिक्रिया दिनुहोस्