सम्झौता कार्यान्वयन नभए सरकारबाट बाहिरिने स्वास्थ्यमन्त्री यादवको चेतावनी



खोटाङ : उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सरकारमा सहभागि हुने क्रममा गरिएका सम्झाैता कार्यान्वयन नभए सरकारबाट बाहिरिने बताएका छन्।

संघीय समाजबादी फोरम खोटाङले बिहीबार दिक्तेलमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री यादवले हालसम्म प्राप्त उपलब्धीलाई संस्थागत गर्ने, संघीय गणतन्त्र, समावेसिता र पहिचानको मुद्धालाई संस्थागत गर्ने मुद्धा पूरा नहुने अवस्था आए आफ्नो पार्टीको बाटो अलग हुने बताएका हुन्।

‘राजनैतिक कारणहरू, मधेसी, आदिबासी जनजातीका मुद्धाहरू, महिलाका मुद्धाहरू, दलितका मुद्धाहरू, पिछिडिएका बर्ग र समुदायका मुद्धाहरू अहिले पनि सम्बोधन हुन बाँकी छ।

त्यसलाई सम्बोधन गरेर जाने समझदारीमा हामी सरकारमा गएको हो,’ संघीय समाजबादी फोरमका अध्यक्ष समेत रहेका मन्त्री यादवले भने, ‘जुन कारणका लागि हामी सरकारमा समावेस भयौँ, त्यो भएन भने, हुन नसक्ने स्थिति भयो भने या गर्दिन भन्ने भयो भने त्यो बेला हाम्रो बाटो फरक हुन सक्छ। त्यो निश्चित हो। तर, अहिले नै सरकार छाड्ने भन्ने छैन।’

मुलुकलाई गाँठो परेर बस्नबाट जोगाउँदै संविधान संशोधन लगायतका काम पूरा गर्नका लागि संघीय समाजबादी फोरम सरकारमा सहभागि भएको उपप्रधान एवं स्वास्थ्यमन्त्री यादवले स्मरण गरे। ‘हामी आएर यो सरकार बनेको पनि होइन। हामी नआउँदा सरकारको बहुमत जान्छ भन्ने पनि होइन। तर, दुई तिहाई पुर्याउनलाई हाम्रो आवश्यकता हो। हामीले दुई तिहाई पुर्याइदिएको हो, ताकी मुलुक गाँठो परेर नबसोस्’, स्वास्थ्य शिविर सञ्चालनका क्रममा दिक्तेल आइपुगेका यादवले भने, ‘संविधान संशोधन लगायतका सिस्टम सुधारको कामहरू अघि बढोस्।

हाम्रो पार्टी सरकारमा निश्चित लक्ष्यका लागि गएको हो।’ मन्त्री यादवले मधेशमा अलग्गै राज्य बनाउने नारा लिएका सीके राउतले जेल बस्दा आत्तिएर मुद्धा छाडेको बताए।

‘पञ्चायतकालमा विभिन्न आन्दोलन गरिन्थ्यो, जेल परिन्थ्यो। दुई चार दिन जेलमा परेपछि कतिपय मान्छे आत्तिन्थे र म आक्कलझुक्कलमा परेको हुँ, म यो निर्दलीय व्यवस्था मान्छु भनेर कागज गर्थे र जेलबाट छुट्थे,’ यादवले भने, ‘सिकेजी चार महिना जेलमा बसे, आत्तिए र आत्मसमर्पण गरे। मधेशलाई अगल देश बनाउछु भन्ने मुद्धा छोडे, अब यस्तो कहिल्यै गर्दिन भनेर कागज गरेर छाडिए। भएको त्यत्ती हो।’ मन्त्री यादवले गोजीमा पैसा नहुँदा उपचार गर्न नसकेर ज्यान गुमाउनुपर्ने बाध्यताको अन्त्यका लागि सरकारले स्वास्थ्य नीति कार्यान्वयन सुरु गरेको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्