रुष्ट प्रचण्ड ओली भेट्न बालुवाटार पुगे



काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार पुगेका छन् ।

नेकपाका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्न एघार दिनपछि शनिबार दिउँसो प्रचण्ड बालुवाटार पुगेका हुन् ।

यही कात्तिक ४ गतेबाट अध्यक्षद्वयबीच सम्वाद भएको थिएनन् । यो बीचमा प्रधानमन्त्री ओलीको सन्देश लिएर नेताहरु खुमलटार पुगेपनि प्रचण्ड सम्वादमा बस्न अस्वीकार गर्दै आएका थिए ।

तर, शुक्रबार परराष्ट्र मन्त्री समेत रहेका स्थायी कमिटी सदस्य प्रदीपकुमार ज्ञवाली खुमलटार पुगेका थिए । त्यसअघि मंगलबार र बिहीबार महाचिव विष्णुप्रसाद पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल खुमलटार पुगेका थिए । तर प्रचण्डले आफू कोरोना संक्रमितको कन्ट्याक ट्रेसिङमा परेका कारण बालुवाटार नजाने बताउँदै आएका थिए ।

मन्त्रिपरिषद् पुनर्गठन, राजदूतहरुको सिफारिस, माओवादी कोटाबाट कर्णालीका मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वास प्रस्ताव तयार लगायत निर्णयबाट प्रचण्ड ओलीसँग रुष्ट भएका थिए ।

ओलीले पटक–पटक वार्तामा बस्न आग्रह गरेपछि प्रचण्ड शनिबार बालुवाटार पुगेका हुन् ।

यो पनि

प्रचण्ड भेट्न खुमलटार पुगे परराष्ट्र मन्त्री ज्ञवाली

प्रकाशित : कात्तिक १५, २०७७

प्रतिक्रिया दिनुहोस्