सङ्क्रमित थपिएसँगै फिदिममा लकडाउन



पाँचथर : पाँचथरको फिदिममा आज एकैदिन १४ जना कोरोना सङ्क्रमित थपिएपछि पन्ध्र दिनका लागि लकडाउन (बन्दाबन्दी) जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय र फिदिम नगरपालिकाले छुट्टाछुट्टै सूचनामार्फत आज मध्यरातबाट आगामी मङ्सिर १२ गतेसम्मका लागि बन्दाबन्दी जारी गरिएको जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयमा आज बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले सो नगरपालिकाभित्र अत्यावाश्यक बाहेकका व्यवसाय तथा सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी नारायण न्यौपानेका अनुसार फिदिम नगरपालिका हुँदै मेची राजमार्गबाट अन्य जिल्लाका लागि भने सवारी सञ्चालन हुन पाउने छन् ।

प्रशासनले अत्यावाश्यक बाहेकका दुई पाङ्ग्रे सवारीका साधन समेत सञ्चालनमा रोक लगाएको छ । नगरप्रमुख ओनाहाङ नेम्वाङले कन्ट्र्याक टे«सिङमा परेकालाई संयमता अपनाई एकान्तमा बस्न आग्रह गरेका छन् । जिल्लामा सक्रिय सङ्क्रमितको संख्या २४ पुगेको छ । रासस

प्रतिक्रिया दिनुहोस्