प्रचण्ड निकट नेता अनुपस्थित भएपछि ओलीसँगको बैठक स्थगित



काठमाडौं : प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यदलका सदस्यहरुसँगको बैठक अन्तिम समयमा आएर स्थगित भएको छ ।

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट विघटित कार्यदलका सदस्यहरु अनुपस्थित भएपछि अर्का अध्यक्ष ओलीसँग गर्ने भनिएको कार्यदलका सदस्यहरुसँगको बैठक अन्तिम समयमा आएर स्थगित भएको हो ।

पार्टीमा विवाद चर्किएपछि यसअद्धि गत असारमा उत्पन्न विवाद सुल्झाउन गठित कार्यदलका सदस्यहरुलाई सोमबार प्रधानमन्त्री ओलीले बालुवाटार बोलाएका थिए ।

साउन ३० गते गठित कार्यदलले तयार पारेको प्रतिवेदनका आधारमा भदौ २६ गतेको स्थायी कमिटि बैठकले ओली र प्रचण्डको कार्यविभाजन र कार्यअधिकार छुट्याउनुका साथै अन्य थुप्रै निर्णयहरु गरेको थियो । तर, सोही कमिटी बैठकको निर्णय कार्यान्वयलाई विवाद उत्पन्न भएपछि ओलीले कार्यदलका सदस्यहरुलाई बालुवाटार बोलाएका हुन् ।

कार्यदलमा ओलीका तर्फबाट शंकर पोखरेल, विष्णु पौडेल र पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालका तर्फबाट भिम रावल र सुरेन्द्र पाण्डे बालुवाटार पुगेका थिए ।

तर, प्रचण्डका तर्फबाट कार्यदलमा रहेका जनार्दशन शर्मा र पम्फा भुसाल भने अनुपस्थित भएका थिए । शर्मा आइसोलेसनमा रहेको र भुसालको कार्यव्यस्तताका कारण उनी बालुवाटार गएका थिएनन् ।

प्रचण्ड निकट दुई जनानै बैठकमा उपस्थिति नहुने भएपछि अन्य कार्यदलका सदस्यहरुले मात्रै ओलीसँग छलफल गर्नुको कुनै अर्थ नभएको भन्दै उनीहरु त्यहाँबाट उठेका थिए ।

नेकापमा उत्पन्न विवाद समाधानका लागि गत साउन ३० गते महासचिव विष्णु पौडेलको संयोजकत्वमा ‘विवाद समाधान कार्यदल’ गठन गरिएको थियो ।

सोही कार्यदलले बुझाएको प्रतिवेदनका आधारमा भदौ २६ गते स्थायी कमिटी बैठकले १५ बुँदे प्रस्ताव पारित गरिएको थियो ।

भदौ २६ गतेलाई पुरानो विवातर्फ नफर्कने निश्चित समय(कट अफ डेट) निर्धारण गर्ने र पुनः त्यसप्रकारको अन्तरविरोधपूर्ण विवाद नहुने कुरा सुनिश्चित गर्ने निर्णय पनि सोही दिन गरिएको थियो ।

तर, त्यसको २० दिनपछि ओलीले एकलौटी राजदूत नियुक्ति गरेपछि नेकपामा देखिनेगरी विवाद शुरु भएको थियो ।

हाल आएर अविश्वासको प्रस्ताव दर्ता र दल विभाजन सम्बन्धी अध्यादेश जारी गर्न कसले पहिले हात छोड्ने भन्नेमा छलफल जारी छ।

यो पनि

प्रधानमन्त्री ओली र विघटित कार्यदलका सदस्यहरुबीच बालुवाटारमा छलफल जारी

प्रकाशित : कात्तिक २४, २०७७

प्रतिक्रिया दिनुहोस्