मध्यपहाडी लोकमार्ग धमाधम कालोपत्रे, स्थानीय उत्साहित



खोटाङ : राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्ग धमाधम पिच हुन थालेको छ । यो मार्गको पूर्वीखण्ड अन्तर्गत भोजपुर र खोटाङ खण्डमा धमाधम कालोपत्रे गर्न थालिएको हो । 

कालोपत्रे भएसँगै सदियौँदेखि कठिन जीवन बिताइरहेका पहाडी क्षेत्रबासी उत्साहित भएका छन् । सडक कालोपत्रे भएपछि हिँउद बर्षै मोटर गुड्ने आशा पनि स्थानीयमा पलाएको छ। 

ओखलढुंगासँग जोडिएको जयरामघाटदेखि खोटाङ हुँदै भोजपुरसम्मको खण्डमा कालोपत्रे भइरहेको हो । सडक कालोपत्रे हुन थालेपछि खोटाङस्थित प्रतिनिधि सभाका सदस्य विशाल भट्टराईले अनुगमन तीव्र पारिएको बताए । सांसद भट्टराईका अनुसार भोजपुर र खोटाङ दुवैतर्फबाट सिमाना चखेवासम्म करिब १२० किलोमिटर सडकले छुन्छ । 

खोटाङतर्फ हलेसीसम्मको सडक पक्की भइसकेको छ । भत्किएको ठाउँमा मर्मत गर्न टेन्डर आह्वान भइसकेको भट्टराईले जानकारी दिए । हलेसीबाट दिक्तेलसम्मको खण्ड कालोपत्रे अन्तिम चरणमा छ । 

भट्टराईका अनुसार अहिले दिक्तेल-चखेवा खण्ड (४७ किमी) कालोपत्रे भइरहेको छ। यही आर्थिक वर्षमा १८ किलोमिट कालोपत्रे सक्ने निर्माण कम्पनीका साङ्गे शेर्पाले जानकारी दिएका छन् । 

'कमममा केही ढिला भएको छ, तर पनि गति लिँदैछ छ', सांसद भट्टराईले भने, 'स्थानीय जनप्रतिनिधि र जनसमुदायले ढिलासुस्ती र गुणस्तरहीन कामबारे खबरदारी गरिरहनुपर्ने जरुरी छ ।'

प्रतिक्रिया दिनुहोस्