प्रधानमन्त्री ओलीले छुट्टै राजनीतिक प्रस्ताव पेस गर्ने



काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले छुट्टै राजनीतिक प्रस्ताव पेस गर्ने भएका छन् ।

बुधबार दिउँसो १ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा ओलीले छुट्टै प्रस्ताव ल्याउने बताएका हुन् । यसैगरी सचिवालय बैठक १० दिनपछि पुनः बस्ने भएको छ ।

यसअघि गत कात्तिक २८ गते बसेको सचिवालय बैठकमा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओलीमाथि विभिन्न आरोपहरु लगाउँदै १९ पृष्ठ लामो प्रस्ताव पेश गरेका थिए । साथै सचिवालय बैठक माग गर्दै पाँच नेताले लेखेको २ पन्ने पत्र, त्यसको जवाफमा ओलीले प्रचण्डलाई लेखेको १० पन्ने पत्र र प्रतिउत्तरमा प्रचण्डले लेखेको सात पन्ने पत्र र अन्तर पार्टी निर्देशन (अपानि)समेत वितरण भएको थियो ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठकाअनुसार अध्यक्ष ओलीको प्रस्ताव समेतलाई ध्यानमा राखेर सचिवालय बैठक १० दिनका लागि स्थगित भएको छ । १३ गते ओलीले प्रस्ताव पेस गरेपछि सचिवालयमा सबै प्रस्तावमाथि छलफल हुने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

बैठकले स्थायी कमिटीको बैठक मंसिर १८ गतेलाई बोलाउने निर्णय पनि गरेको छ । यस्तै यसअघि मंसिर १५ लाई तय भएको केन्द्रीय कमिटीको बैठक मंसिर २५ गतेसम्मलाई सरेको छ ।

यो पनि

नेकपा सचिवालय बैठक सम्पन्न, १० दिनपछि पुनः बस्ने

प्रकाशित : मंसिर ३, २०७७

प्रतिक्रिया दिनुहोस्