हात्तीको आक्रमणबाट चितवनमा एकजनाको मृत्यु



काठमाडौँ : चितवन राष्ट्रिय निकुञ्जमा जङ्गली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका–१ बस्ने ५० वर्षीय आइतबहादुर चेपाङ रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आइतबार निकुञ्जभित्र घाँस काट्ने जाने क्रममा चेपाङलाई हात्तीले आक्रमण गरेको हो । ४० वर्षीया विष्णुमाया चेपाङसहित निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत दोभान नजिक घाँस काट्न गएका उनलाई हात्तीले आक्रमण गरेको थियो ।

विष्णुमाया भने बच्न सफल भएकी छन् । घटनालगत्तै श्रीमती र आफन्तले शवलाई घर ल्याएका थिए । उक्त शव परीक्षणका लागि भरतपुर अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ ।

चितवन राष्ट्रिय निकुञ्जले ती व्यक्ति कुनै किसिमको अनुमति तथा जानकारी बिना नै अनधिकृतरूपमा निकुञ्जको कोर इलाका प्रवेश गरेको जनाएको छ । योसँगै निकुञ्ज र आसपासका क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट चालु आवमा मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।

तीमध्ये तीनजना बाघको आक्रमणबाट, एकजना गैँडाको आक्रमणबाट र एकजनाको जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएको हो । यसअघि निकुञ्जको कोर इलाकामा घरपालुवा हात्तीको आक्रमणबाट राष्ट्रिय प्रकृति संरक्षण कोषका माहुतेको समेत मृत्यु भएको थियो । (रासस)

प्रकाशित : मंसिर ८, २०७७

प्रतिक्रिया दिनुहोस्