बर्दिबासमा अबेर साँझसम्म प्रदर्शन जारी, दुई प्रहरी घाइते



जनकपुरधाम : महोत्तरीको बर्दिबासमा ६ वर्षिया बालिका गुलबसा खातुनको हत्यापछि भएको प्रदर्शनको क्रममा प्रदर्शनकारीले हानेको ढुंगा तथा सीसाको बोतल लागेर दुई जना प्रहरी जवान घाइते भएका छन् ।

प्रदर्शनको क्रममा एक प्रदर्शनकारीको मृत्यु भएपछि बर्दिवासमा लगाइएको निषेधाज्ञा तोडेर जारी रहेको प्रदर्शनको क्रममा प्रदर्शनकारीले हानेको ढुंगा लागेर दुईजना प्रहरी जवान घाइते भएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद कटुवालले जानकारी दिए ।

सीसाको बोतल लागेर प्रहरी जवान अर्जुन प्रसाद बानियाँ र अर्का नाम खुल्न नसकेका एक प्रहरी जवानको घुँडामा चोट लागेको प्रजिअ कटुवालले बताए । उनीहरुको उपचार भईरहेको उनले जानकारी दिए ।

प्रजिअ कटुवालले भने,‘पीडित पक्षसंग वार्ता मार्फत सहमति भईसकेको अवस्थामा केही उच्छृंखल व्यक्तिहरुले प्रदर्शनलाई जारी राखेका छन् । वार्तामा उनीहरुको माग सम्बोधन गर्नका लागि पहल गर्ने सहमति समेत भईसकेको छ । तरपनि केही उच्छृंखल तत्वले प्रदर्शन गरिरहेका छन् ।’

प्रकाशित :१० मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्