को हुन् उद्योग वाणिज्य महासंघको उपाध्यक्षमा विजयी भएका ढकाल ?



काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्वाचित भएका छन् । शनिबार राति सम्पन्न भएको निर्वाचनमा ढकालले एसोसिएटमा ५२२, वस्तुगतमा ५९ तथा जिल्ला नगरमा ५२ मत पाएर विजयी भएका हुन् ।

प्यानलसहित मैदान उत्रिएका किशोर प्रधानले एसोसिएटमा ३७५, वस्तुगतमा ३९ र जिल्ला–नगरमा ५३ मतमात्र पाएपछि पराजित हुन पुगेका हुन् ।

जिल्ला तथा नगरको मत भार ५० प्रतिशत, एसोसिएटको ३० प्रतिशत र वस्तुगततर्फको मतभार २० प्रतिशत हुन्छ । ढकालले जिल्ला नगरमा २४ दशमलव ७६, वस्तुगतमा १२ दशमलव ०४ र एसोसियटमा १७ दशमलव ७६ प्रतिशत मतभारसहित ५४ दशमलव ५४ प्रतिशत मत प्राप्त गरे ।

को हुन् ढकाल ?

विस. २०२२ सालमा बाग्लुङको अमलाचौरमा जन्मिएका ढकाल नेपालका सफल उद्यमीका रुपमा चिनिन्छन् । २०४८ सालमा भाइ हेमराज ढकाल (रामु)सँग मिलेर सानो कोल्डस्टोर व्यवसाय शुरु गरेका ढकालले व्यवसायलाई विस्तार गर्दै कर्पोरेट तहमा पु-याएका छन् । अहिले ढकालले नेतृत्व गरेको आईएमई ग्रुपअन्तर्गत बैंक तथा वित्तीय संस्था, बीमा, रेमिटयान्स, केबलकार, रिसोर्ट, अटोमोबाईल, जलविद्युत्, अक्सिजन उद्योगलगायत विभिन्न क्षेत्रमा दर्जनौं उद्योग व्यवसाय रहेका छन् ।

अहिले आइएमई ग्रुप, ग्लोबल आइएमई बैंक र चन्द्रागिरी हिल्स लिमिटेडको अध्यक्ष रहेका ढकालले विभिन्न सामाजिक संघसंस्थाको पनि नेतृत्व गरेका छन् । सन् २०१० देखि नेपालका लागि इन्डोनेसियाका ‘अनररी कन्सुल’ रहेका ढकाल ‘नेपाल इन्डोनेसिया उद्योग वाणिज्य संघको अध्यक्ष, नेपल जर्मनी उद्योग वाणिज्य संघको उपाध्यक्ष र ‘इन्टरनेशनल च्याम्बर अफ् कमर्स एन्ड इन्डस्ट्रीज–नेपाल’को उपाध्यक्ष पदमा रहेर समेत काम गरेका छन् ।

ढकाल नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको सञ्चालक समिति सदस्य तथा श्रम, रोजगार र सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत रहेको सामाजिक सुरक्षा कोषको सञ्चालक समिति सदस्यसमेत हुन् ।

नेपाल सरकारले ढकाललाई गोरखा दक्षिणबाहु चौथो र प्रबल जनसेवाश्री चौथोबाट सम्मान गरेका छ । त्यस्तै, नेपालमा वित्तीय क्षेत्रबाट सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याएबापत उनले महत्वपूर्ण व्यवसायिक व्यक्ति (सिआईपी) बाट लगातार तीन आर्थिक वर्षमा सम्मानित भइसकेका छन् ।

यो पनि

चन्द्र ढकाल उद्योग वाणिज्य संघको उपाध्यक्षमा विजयी

प्रकाशित : मंसिर १४, २०७७

प्रतिक्रिया दिनुहोस्