अध्यक्षद्वयको प्रतिवेदनमाथि प्रारम्भिक छलफल शुरु



काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले अध्यक्षद्वयको प्रतिवेदनहरुमाथि औपचारिक रुपमा छलफल शुरु गरेको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अधयक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्तावमाथि प्रारम्भिक छलफल गरिएको छ ।

बैठकमा दुवै प्रस्तावमाथि छलफल शुरु भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । अध्यक्ष ओलीले मंसिर १३ गतेको सचिवालय बैठकमा ३८ पृष्ठको ५३ बुँदे प्रतिवेदन पेश गरेका थिए भने कार्यकारी अध्यक्ष प्रचण्डले कात्तिक २८ गतेको सचिवालय बैठकमा १९ पृष्ठको राजनीतिक प्रतिवेदन पेश गरेका थिए । मंगलबारको सचिवालय बैठकमा दुवै प्रतिवेदनमाथि छलफल शुरु भएको हो ।

बैठकमा अध्यक्ष ओलीले कार्यकारी अध्यक्ष प्रचण्डको प्रतिवेदन र कार्यकारी अध्यक्ष प्रचण्डले अध्यक्ष ओलीको प्रतिवेदनमाथि धारणा राखेका थिए । यस्तै अध्यक्षद्वयसँगै अन्य सचिवालय सदस्यहरुलेसमेत धारणा राखेका छन् । दुवै प्रतिवेदनमाथि थप छलफल आवश्यक भएको भन्दै सचिवालयको अर्को बैठक बुधबार दिउँसो १ बजे पुनः बस्ने गरी सम्पन्न भएको छ ।

प्रवक्ता श्रेष्ठले दुवै प्रस्तावमाथि औपचारिक रुपमा छलफल पनि गर्ने र नेताहरुबीच अनौपचारिक संवादलाई पनि निरन्तरता दिने निष्कर्ष बैठकले निकालेको बताए ।

उनले पार्टीभित्रको विवाद समाधान गर्नुपर्ने सबैको एकमत रहेको पनि बताए । उनकाअनुसार विवाद समाधानका लागि औपचारिक र अनौपचारिक छलफललाई तीव्रता दिएर पार्टीमा देखिएको संकट समाधान र पार्टी एकताको रक्षा गर्नतर्फ बैठक केन्द्रित रहेको छ । सुरक्षा थ्रेटका कारण बैठक पार्टी मुख्यालयबाट बालुवाटार सारिएको चर्चा भइरहे पनि त्यस विषयमा कुनै जानकारी नभएको पनि प्रवक्ता श्रेष्ठले बताए ।

यो पनि

भोलि पुनः बस्ने गरी नेकपा सचिवालय बैठक सकियो

प्रकाशित : मंसिर १६, २०७७

प्रतिक्रिया दिनुहोस्