भीमसेन मन्दिरको पुनःनिर्माण शुरु



काठमाडौं : पाटन दरबार क्षेत्रस्थित भीमसेन मन्दिरको पुनःनिर्माण कार्य शुरु भएको छ । आफ्नो ठाउँको सम्पदा आफैँले बनाऔं भन्ने उद्देश्यले पुनःनिर्माण थालिएको भीमसेन मन्दिर पुनःनिर्माण सरोकार समितिले जनाएको छ ।     

भूकम्प गएको झण्डै चार वर्षपछि स्थानीयवासीको अग्रसरतामा अहिले तीन तले सो मन्दिरको माथिल्लो भाग भत्काउने काम भइरहेको छ । पहिले भारत सरकारले मन्दिर पुनःनिर्माणमा आर्थिक सहयोग गर्ने बताए पनि प्रक्रिया अघि नबढेपछि यस मन्दिरको पुनःनिर्माणका लागि स्थानीयवासी आफैँ जुरमुराएका हुन् । मन्दिरको माथिल्लो तला भत्कापछि थप काम अघि बढाइने मन्दिर व्यवस्थापन समितिले जनाएको छ । 

व्यापारीहरुको आराध्य देवताको रुपमा रहेको भीमसेन मन्दिर पुनःनिर्माण व्यापारी सङ्घकै अगुवाइमा शुरु भएको हो । ललितपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्णलाल महर्जनको अध्यक्षतामा रहेको समितिमा महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, ललितपुर जिल्लाका सबै क्षेत्रका प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य र स्थानीय टोल सुधार समितिका पदाधिकारी रहेका छन् ।     

भीमसेन मन्दिर भूकम्प र त्यसपछिका परकम्पनले गर्दा कुनै पनि समयमा भत्कन सक्ने हुँदा भत्काउन शुरु गरिएको समितिका अध्यक्ष महर्जनले बताए । मन्दिर भत्कँदा जनधनको क्षति हुनसक्ने भन्ने विज्ञको सुझावका आधारमा चाँडो सक्ने योजनाका साथ काम शुरु गरिएको उनले बताए । उनले भने, “विज्ञले चाँडो मन्दिर भत्काउन नथाल्ने हो भने आफैँ भत्कन सक्ने बताएकाले हामीले भत्काउन शुरु गरेका हौँ ।”     

मन्दिर निर्माणका लागि काठमाडौँ उपत्यकासँगै देशभरका व्यापारीसँग सहयोग सङ्कलन भइरहेको अध्यक्ष महर्जनले बताए । एकातिर सहयोग सङ्कलन भइरहेको छ भने अर्कातिर यहाँको मन्दिर भत्काउन थालिएको छ ।

मन्दिर भत्काउन सकिँदासम्म आवश्यक रकम जुट्ने अपेक्षा गरिएको उनले बताए । माथिल्लो तला भत्काएपछि त्यहाँ रहेका सामग्रीका बारेमा पहिले अध्ययन हुनेछ । उनले भने, “त्यहाँ रहेका एकएक सामग्रीका बारेमा विस्तृत अध्ययनपछि मात्रै थप काम हुनेछ ।”     

यो मन्दिरको पुनःनिर्माण दुई वर्षमा सम्पन्न गर्ने योजनाका साथ कार्य शुरु भएको हो । सुनलेपन कार्यवाहेक मन्दिरको अनुमानित लागत रु चार करोड ९३ लाख रहेको छ । यो मन्दिर यसअघि विसं २०६८ मा मर्मत भएको पाइन्छ । विसं १९९० को भूकम्पले क्षति नपुगेको मन्दिर विसं २०२३ मा पनि मर्मत भएको पाटन दरबार संरक्षण तथा दरबार हेरचाह कार्यालयले जनाएको छ ।     

पाटन दरबार क्षेत्रमा रहेका अरु मन्दिरजस्तै भीमसेन मन्दिर काष्ठकलाले भरिपूर्ण रहेको छ । तीन तले मन्दिर निर्माण हुँदा झिङ्गटीकै छाना थिए । दाताको सहयोगमा माथिल्लो छाना र पहिलो तलाको झ्यालमा सुनको लेपन लगाएको पाइएको अध्यक्ष महर्जनले बताए ।

उनका अनुसार पहिलो तलाका झ्यालमा तामाले मोड्ने काम भएको पाइन्छ । उनले भने “मन्दिर निर्माण सकिएपछि मन्दिरका विभिन्न भागमा पहिलेजस्तै लेपन गरिनेछ ।”     

महाभारतका मुख्य पात्र कौरव र पाण्डवमध्ये पाण्डपका पाँच दाजुभाइमा माहिला भीमसेन हुन् । पाटन दरबार क्षेत्रको उत्तरतर्फ रहेको यस मन्दिरलाई पाटनका व्यापारीले इष्ट देवताका रुपमा पूजा गर्ने गरेको अध्यक्ष महर्जनले बताए ।     

नेपाल सम्वत् ८०१ मा राजा श्री निवास मल्लको पालामा मन्दिर निर्माण भएको मन्दिरको शिलालेखमा उल्लेख रहेको छ । पुरानो शान्तरुपी मूर्तिलाई विस्थापित गरेर राजा योगनरेन्द्र मल्लले नै पछि नयाँ मूर्ति राखेको भनाइ छ ।     

मन्दिरमा अहिले रहेको मूर्ति कसरी निर्माण भयो भन्ने विषयमा रोचक किम्वदन्ती पाइन्छ । राजा योगनरेन्द्र मल्लले त्यतिबेलाका प्रख्यात कलाकारलाई भीमसेनको मूर्ति बनाउन लगाएका थिए । मूर्ति चित्त नबुझेपछि उनले दोस्रो पटक बनाउन लगाए ।

दुई पटकसम्म पनि आफूलाई चित्तबुझ्दो मूर्ति नबनाएपछि राजा निकै रिसाए । राजाको रिसाएको रुपलाई सम्झिएर कलाकारले मूर्ति बनाएको र त्यही मूर्ति राजालाई पनि मन परेको किम्वदन्ती पाइन्छ ।     

वर्षेनी भाद्र कृष्ण त्रयोदशीका दिनमा भीमसेनको जात्रा हुने गरेको छ । भीमसेनको खट जात्रा गरेर नगर परिक्रमा हुने गरेको छ । नेपाल सम्वत् ८२२ मा राजा योगनरेन्द्र मल्लले नै जात्राको शुरु गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्