बैठक स्थगन गरेर नेकपाका दुवै समूह शक्तिसंचयतिर



काठमाडौँ : आन्तरिक विवाद निर्णायक विन्दुमा पुगेपछि नेकपाका दुवै समूह शक्तिसंचयतिर लागेका छन् । शक्तिसंचयका लागि दुवै समूह तीन दिन बैठक पछाडि सार्न तयार भएका छन् ।

पार्टीभित्र आफूले उठाएको मुद्दा सम्बोधन नभएपछि र सम्भावित समीकरणमा अल्पमतमा पर्ने भएपछि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले बैठक बहिस्कारको रणनीति अंगीकार गरेका छन् । बुधबार सचिवालय बैठक बहिस्कार गरेर ओलीले आफू अनुकूलको सहमति नभएसम्म आगामी बैठकमा पनि यही शैली अपनाउने रणनीति अंगीकार गरेर अर्को समूहमाथि दबाब बढाएका छन् । यसअघि पनि आफूमाथि पार्टी कमिटीबाट दबाब हुँदा प्रधानमन्त्री ओलीले बैठकबाट दूरी बनाउँथे ।

हुन त प्रधानमन्त्री ओली सहभागी नभए पनि बुधबारको बैठक औपचारिक बनेको छ । तर, बैठकले त्यस्तो महत्वपूर्ण र ठूलो निर्णय भने केही गरेको छैन । बुधबारको बैठकमा मुख्य तीन वटा निर्णय भएका छन् ।

पहिलो–२० गते १ बजेका लागि सचिवालय बैठकको मिति तय

दोस्रो–उक्त बैठकमा अध्यक्ष ओलीलाई उपस्थित हुन आग्रह गर्ने

तेस्रो–मंसिर १८ लाई तय भएको स्थायी कमिटी बैठक २१ सम्मलाई सार्ने निर्णय भएको छ ।

यो निर्णय प्रक्रियामा ओली निकट नेता महासचिव विष्णु पौडेल र सचिवालय सदस्य ईश्वर पोखरेल पनि सहभागी थिए । बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘सचिवालयको बैठकमा अध्यक्ष कमरेड केपी उपस्थित हुनुभएन । त्यसकारण आजको बैठकले पार्टीमा देखा परेको संकट र विद्यमान समस्या समाधानका लागि प्रधानमन्त्री ओलीको समेत उपस्थितिमा बैठक बस्नु आवश्यक, उपयुक्त र उचित हुन्छ भन्ने निष्कर्षका साथ आगामी बैठकमा उहाँको अनिवार्य उपस्थितिको अपेक्षासहित अनुरोध गर्ने निर्णय गरेका छौं ।’

स्रोतका अनुसार महासचिव पौडेलले एक दुई दिन बैठक स्थगित गरेर संवाद गरेर अर्को बैठक प्रधानमन्त्रीसहित बस्ने वातवरण बनाउने कोसिस गर्न कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसँग आग्रह गरेका थिए । महासचिवको आग्रहअनुसार दाहालले सचिवालय बैठक २० गते र १८ गते तय भएको स्थायी कमिटी बैठक २१ गते बस्ने प्रस्ताव अगाडि सारेका थिए । पछि त्यहीअनुसार नै निर्णय भएको थियो ।

तर, यसका पछाडि कार्यकारी अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको पनि आफ्नै योजना रहेको स्रोत बताउँछ । दिउँसोको सचिवालय बैठक अगाडि खुमलटारमा कार्यकारी अध्यक्ष दाहालसहित वरिष्ठ नेताहरु झलनाथ खनाल, नेपाल र वामदेव गौतमबीच छलफल भएको थियो । ओली सहभागी नभए सचिवालय बैठक कसरी अगाडि बढाउने, केही दिन स्थगित गरेर थप तयारीमा लाग्ने लगायतका विषयमा नेताहरुबीच छलफल भएको थियो ।

स्रोत भन्छ,‘बैठक तीन दिन सारेर दाहाल नेपाल समूहले आफुहरु लचक भएको सन्देश त दिएकै छन्, यसबाहेक यो समयमा आफ्नो तर्फबाट गर्नुपर्ने तयारी पनि पूरा गर्ने रणनीति पनि छ ।’ यसअघि नै दाहालले मंगलबारको सचिवालय बैठकमा अवको स्थायी कमिटी बैठकमा परिमार्जित वा पुरक प्रस्ताव ल्याउने बताइसकेका छन् ।

मंगलबारको सचिवालय बैठकमा ओलीले केही दिन बैठक स्थगित गरेर अनौपचारिक संवाद अगाडि बढाउन खोजेका थिए । तर, उनको चाहनाविपरीत अनौपचारिक बैठक बसेर दाहाल–नेपाल समूहले स्थायी कमिटी र सचिवालय बैठकको मितिमा हेरेफेर गरेका छन् । उनीहरुले यो बैठक ओलीलाई अन्तिम मौका दिएको रुपमा अर्थ्याएका छन् ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्षको अनुपस्थितिमा बैठक बस्दा उनले पेस गरेका प्रस्ताव छलफल गर्नु सान्दर्भिक नहुने भन्दै २० गतेसम्मका लागि बैठक सारिएको वरिष्ठ नेता खनालले बताए । अब तय भएको बैठकमा सहभागी हुन प्रधानमन्त्रीलाई पनि समय उपलब्ध गराउने गरी बैठक केही दिन पछाडि सारिएको नेता खनालको भनाइ छ । यद्यपि यसबीचमा दुवै समूहबीच अनौपचारिक संवादको पनि कोसिस हुने उनले बताए ।

आसन्न बैठकको तयारीबारे पार्टी प्रवक्ता श्रेष्ठले समेत संकेत गरेका छन् । ‘पार्टी गम्भीर संवेदनशील मोडमा छ । असामान्य परिस्थितिमा संवेदनशील विषयमा छलफल गर्न ओली कमरेड आउनु भएन भने गर्ने के गर्ने भन्ने हामी सोच्न चाहन्नौं, त्यसैले उहाँ उपस्थिति हुनुहुन्छ भन्ने अपेक्षामात्र होइन विश्वस्त छौं । उहाँले बैठकमा सहभागी भएर संकट निवारण गर्न सार्थक योगदान गर्नुहुनेछ भन्ने विश्वास गर्छौँ,’ प्रवक्ता श्रेष्ठले बैठकपछि भनेका थिए ।

गत साउनमा पनि विवाद हुँदा ओलीको सहमतिबिना बहुमत सदस्यले बालुवाटारमा नै स्थायी कमिटी बैठक बसेर निर्णय गरेको थियो । उक्त बैठकमा सचिवालयका पाँच नेता सहभागी थिए । त्यतिबेला पनि प्रधानमन्त्रीले प्रेस सल्लाहकारमार्फत बैठक स्थगित भएको सूचना सार्वजनिक गरेर र बैठकमा उपस्थित नजनाएर आफ्नो तर्फबाट कदम चालेका थिए ।

तर, दाहाल–नेपाल समूहले बालुवाटरमै बैठक राखेका थिए । ओलीले एकपक्षीय रुपमा बैठक स्थगित गर्नु अनुचित भएको निष्कर्ष बैठकले निकालेको थियो । साथै ओलीसँग संवाद गर्ने निर्णय पनि गरेको थियो । यद्यपि ओली समूहले भने उक्त बैठकलाई मान्यता दिएको थिएन ।

असार १६ मा बसेको स्थायी कमिटी बैठकमा दाहाल–नेपाल समूहले दुवै पदबाट ओलीको राजीनामा मागेका थिए । राजीनामा माग भएपछि बैठकमा ओली उपस्थित नहुँदा बैठक लामो समय प्रभावित भएको थियो । गत वर्ष पार्टी मुख्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटी बैठकमा पनि ओली स्वास्थ्यको कारण देखाउँदै उपस्थित भएका थिएनन् । कान्तिपुर दैनिकमा बबिता शर्माले लेखेकी छन् ।

प्रकाशित : मंसिर १८, २०७७

प्रतिक्रिया दिनुहोस्