देवदह मेडिकल कलेजमा सुत्केरीको मृत्युपछि आफन्तको प्रदर्शन



बुटवल : देवदह मेडिकल कलेजमा सुत्केरीको मृत्यु भएपछि मृतकका आफन्तले कलेज घेराउ गरी प्रदर्शन गरेका छन् ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका-१० की ३१ वर्षीया राधा थारुको अपरेसन गर्ने क्रममा लापरबाही भएको आरोपमा घटनाको छानवीन, दोषीलाई कारबाही र क्षतिपूर्तिको माग गर्दै मृतकका आफन्तले प्रदर्शन गरेका हुन् ।

मंसिर १७ गते अस्पताल भर्ना भएकी उनको शल्यक्रिया गरेर १८ गते बिहान ५ बजे शिशु जन्माइएको थियो । बच्चा जन्माएको बेला स्वास्थ्य अवस्था राम्रो रहेको र कुराकानी पनि भएको तर एक्कासी अप्रेसन गरेको ठाउँबाट रक्तश्राव हुन थालेपछि सोही दिन आईसीयूमा राखेर बिहान ११ बजे दोस्रो शल्यक्रिया गरिएको थियो ।

त्यसपछि पनि रक्तश्राव नरोकिएपछि पाठेघर निकाल्न राति तेस्रो अप्रेशन गरिएको मृतककी दिदी फुलमति थारुले बताइन् । राधालाई सुत्केरी भएपछि १३ पिन्ट रगत चढाइएको थियो । रक्त सञ्चार केन्द्रमा रगत लिन जाँदा यति धेरै रगत त आवश्यक नपर्ने भनेर रक्त सञ्चारका कर्मचारीले आशंका गर्दै बिरामीलाई हेर्न भनेपछि हेर्न जाँदा जिब्रो बाहिर निक्लेको अवस्थामा बहिनीलाई देखेको फुलमतिले बताइन् ।

मेडिकल कलेजले अपरेसनका क्रममा लापरबाही गरेका कारण सुत्केरीको मृत्यु हुन पुगेको आफन्तको दावी छ । ‘लापरबाही नभएको भए तीन दिनसम्म सुत्केरीलाई हेर्न किन दिइएन’ फुलमतिले भनिन्,‘सुत्केरीको मृत्यु भएपछि पनि उपचार भइरहेको छ भनेर हामीलाई ढाँटिएको हो ।’

प्रकाशित :२२ मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्